काठमाडौंमा एक एनजीओले आयोजना गरेको र नेपाल ससरकारसमेतको रहश्यमयी संलग्नता देखिएको कथित ‘एशिया प्यासिफिक समिट’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ‘क्रिश्चियन धर्म सम्मेलन’ दाबी गरेको छ । सो पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले यस सम्मेलनप्रति राप्रपा (प्रजातान्त्रिक)को गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएका छन् ।
अध्यक्ष राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार यस सम्मेलनको देखाउने एजेण्डा जलवायु परिवर्तनलगायतका विषय रहे पनि त्यो केवल रुप पक्ष मात्र भएको र यसको सार पक्ष नेपालमा क्रिश्चियन धर्मको विस्तार एवं सम्वद्र्धन गर्ने नै रहेको तथ्य दिनको घाम जत्तिकै प्रष्ट भएको छ ।
‘दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको अवस्थामा वर्तमान कम्युनिष्ट सरकार देशलाई पुनः अर्को दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्वन्द्वको कहालीलाग्दो सुरुङतर्फ धकेल्न उद्यत् रहेको र एशिया प्यासिफिक समिट यसैको सजीव उदाहरण रहेको हाम्रो पार्टीको ठम्याई छ’, अध्यक्ष राणाले भनेका छन् ।
वर्तमान नेकपा सरकारको प्रत्यक्ष तथा परोक्ष संरक्षण तथा सहभागितामा यो संदेहास्पद सम्मेलन आयोजना भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा राणाले भनेका छन्– ‘शदीयौँदेखि धार्मिक र साँस्कृतिक सहिष्णुतालाई राष्ट्रिय चरित्र तथा संस्कृतिको रुपमा अवलम्बन गर्दै रहेको तथा सनातन हिन्दू राष्ट्र रही आएको र हिन्दुत्वको छहारीमा विविध धर्म र संस्कृतिले समान तथा सम्मानजनक संरक्षण एवं स्थान पाइआएको नेपाललाई जबर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फसाउने वाह्य शक्तिहरुको दीर्घकालीन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको देखिनु घोर चिन्ता र निन्दाको विषय हो ।’
‘एउटा खास धर्म र सम्प्रदायको मतियार बनेर वर्तमान नेकपा सरकारले राज्यको कुनै जात, धर्म वा सम्प्रदाय हुंदैन भन्ने धर्म निरपेक्षताको सिद्धान्तको समेत खिल्लि उडाएको छ । साथै आफूलाई साम्यवादी भनेर नेपालमा समाजवाद कायम गर्छौं भन्ने वर्तमान नेकपा सरकारले आफ्ना घोषित सिद्धान्त र विचार विरोधी काम कारवाही गर्नु घोर विडम्बना हो । राप्रपा (प्रजातान्त्रिक) नेपाललाई धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने वर्तमान सरकारको नियत, व्यवहार र रवैयाको घोर भत्र्सना गर्दछ र सरकारका द्वन्द्वाभिमुखी आचारण र व्यवहारको विरोध गर्दै सनातन सर्वधर्म हिन्दूत्वको झण्डा बोकेर धर्म परिवर्तनको विरोधमा खबरदारी गर्न आम स्वाभिमानी देशभक्त नेपालीलाई आब्हान गर्दछ ।’
विज्ञप्तिमा उनले अगाडि भनेका छन्– ‘क्रिश्चियन धर्मालम्वीप्रति हाम्रो सम्मान छ, आ–आफ्नो धर्म र संस्कृतिप्रति गौरव गर्नु, विस्तार एवं सुदृढिकरणमा लाग्नु सम्बन्धित धर्मालम्बीको दायित्व र कर्तव्य हो । यस परिप्रेक्षमा नेपालका ९४ प्रतिशत सनातन धर्मावलम्वी (हिन्दू, बौद्ध, किराँत र प्राकृत लगायत) नेपाली जनताले मान्दै आएको सनातन धर्मप्रति आस्था र सम्मान दर्शाउन हामी विश्वका क्रिश्चियन धर्मावलम्बी मित्रहरुसँग पनि आग्रह गर्दछौँ । हाम्रो आपत्ति नेपाललाई ‘धर्मनिरपेक्ष राष्ट्र’ बनाएर प्रायोजित रुपमा क्रिश्चियनिटीको माहोल तयार गर्न सघाउने नेपालकै दल र नेताहरूप्रति हो । प्रायोजित प्रवृत्ति घातक र अविश्वसनीय हुन्छ भन्ने तथ्यलाई एशिया प्यासिफिक समिटमा आवद्ध राष्ट्र र अभियन्ताले समेत बुझ्न जरुरी छ ।’
प्रतिक्रिया