– डा. युवराज सङ्ग्रौला
एसिया प्यासिफिक समिट नामको काठमाडौंमा भइरहेको ‘जम्बुरी’ले थुप्रै प्रश्न जन्मायो ।
नेपाल अहिले विकासको लक्ष्यतर्फ केन्द्रीत हुने समयको आँगनमा उभिएको छ । तर यो बाटोमा नेपाललाई हिँड्न नदिने शक्ति अनेकौँ छन् । हाम्रो पथ अलमलिएको र लक्ष्य धमिलो हुन थालेजस्तो छ । केही मुद्दाहरू अगाडि देखिएका छन् ।
१. हाम्रो राजनीतिमा ब्यापक विभाजनका संकेतहरू देखिएका छन् । तर अहिले डरलाग्दो अवस्था धार्मिक विभाजनतर्फ देश जान लागेको अवस्था देखिन्छ । नेपालमा अहिले विकासको सम्मेलन अवश्यक थियो । नेपाललाई सहयोग गर्ने देश र संस्थाहरूको सम्मेलन गर्न सकिएको भए, हाम्रो राजनीति खँदिलो हुने थियो । तर किन अवश्यक भयो एउटा धार्मिक संस्थाको नेतृत्वमा सम्मेलन ? यो प्रश्नको सही जवाफ आउन सकेन भने यसले उएटा गम्भीर विभाजनलाई निम्त्याउने छ ।
२. कसले यो सम्मेलनको ढाँचा तयार पार्यो । नेताहरूलाई गाली गर्नुभन्दा कसरी नेताहरू यसमा संलग्न हुन पुगे भन्ने कुरामा छलफल हुनुपर्छ होला । के राजनीतिमा संलग्न ब्यक्तिहरूले यो सम्मेलन विदेशीको छद्म योजनाअनुरुप ल्याए ? के यो सम्मेलनको सम्बन्धमा राजनीति गर्नेहरू विदेशीको छद्म खेलको शिकार भए ? के विदेशी तत्वले नेपालका राजनीतिलाई प्रभावित गर्न सकेको हो ? हामीले गर्नुपर्ने विश्लेषण यतातर्फ केन्द्रित हुनुपर्छ होला ।
३. थुप्रै भारतीयहरू यो सम्मेलन भारतको आसन्न निर्वाचनमा काङ्ग्रेस र कृश्चियनको समर्थनमा हिन्दु, बौद्ध र भारतीय जनता पार्टी विरुद्धको एउटा रणनीति ठान्दछन् । जुन संस्थाको प्रमुख संलग्नता रहेको छ त्यो पश्चिमी शक्तिको पक्षमा र चीनका विरुद्धमा रहेको शक्ति हो । अनि कसरी वामपन्थी शक्तिको सरकार यस्तो शक्तिको चंगुलमा फस्यो त ? यो प्रश्नको उत्तर नेताहरूलाई गाली गरेर मात्र प्राप्त हुँदैन । यसका अन्तर्यहरूको खोजी गर्नुपर्छ ।
४. एउटा कुरा के स्पष्ट देखिन्छ भने नेपालका राजनीतिकर्मीहरूले यस सम्मेलनका बारेमा निर्णय गर्दा थुप्रै कुराहरूको विश्लेषण गर्न सकेनन् । वा, यसलाइ सामान्य रुपमा लिए ।
५. यथार्थमा दुई तिहाइको वामपन्थी सरकार ध्वस्त पारेर एवम् नेपालको राजनीतिलाई विवादित तुल्याएर नेपाललाई फेरि असफल राज्यको खाडलमा हाल्ने खेल तीव्र बनाइँदैछ ।
यसका लक्षणहरू हेरौँ–
क. सरकारले गल्तीहरू गर्यो होला, तथापि यसले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित पार्दै, अगाडि बढ्ने प्रयास गरेको हो । तर, अनेकथरिका भित्र छिरेका र बाहिरका देशविरोधि तत्वहरू सरकारका विरुद्ध सक्रिय रहे ।
ख. पार्टीहरूलाइ विभाजित गर्न सफल भए । देशको विकासका बारेमा कोही सोचीरहेको छैन । काङ्ग्रेस विपक्षी दल बन्न सकेन । विवेकशील जस्तो भर्खर उम्रिन खोजेको पार्टीसमेत विवादमा आयो ।
ग. नेकपा एकीकरणको सक्रियता सिथिल भयो ।
घ. विदेशी गैरसरकारी संस्था एकाएक फेरि सक्रिय भए ।
ङ. मधेश विखण्डनको खुल्ला कार्यक्रम भयो ।
च. नागरिकताको विवादास्पद विधेयक ल्याइयो ।
छ. अपराध व्यापक भयो ।
ज. प्रधानमन्त्रीका विरुद्ध एकलौटी प्रहार भयो, बिरामी हुँदा समेत असभ्यता प्रकट भए ।
झ. देउवाका विरुद्ध जुलुस लाग्यो आफ्नै कार्यलयमा ।
यी लक्षणहरू खतरनाक खेलका उपज हुन् भनी अहिले पनि छलफल भैरहेको छैन । यसै परिदृश्यमा यो सम्मेलन आयो । यसको अन्तर्यको छलफल हुनुपर्छ । यो ठिक वा बेठिक के हो, यसको घुम्टो खुल्नुपर्छ ।
(डा. सङ्ग्रौलाको फेसबुक वालबाट)
प्रतिक्रिया