प्रधानमन्त्री ओलीसँग विभिन्न देशका नेताको भेट

प्रधानमन्त्री ओलीसँग विभिन्न देशका नेताको भेट


एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग आज इरानका पूर्वउपराष्ट्रपति हसन गाफोरी फार्डले शिष्टाचार भेटवार्ता गरे ।

भौगोलिक रुपमा नजिकै रहेको मित्रराष्ट्र भएकाले एकअर्काको साझा चासो र हितका विषयमा नेपाल र इरानका दुई नेताबीच छलफल भएको बताइएको छ । उनीहरुबीच आइक्यापलाई प्रभावकारी बनाउने र सक्रियतापूर्वक अगाडि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

आइक्यापमा एशिया प्रशान्त क्षेत्रका २०० भन्दा बढी देशका सत्तारुढ र प्रमुख पार्टी सदस्य रहेकाले यसलाई थप प्रभावकारी बनाउन एकआपसमा मिलेर काम गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको बताइएको छ ।

यस्तै प्रधानमन्त्री ओलीसँग सामुआका अफिओगा टुइमालिआलिफानो भालेतोआ सुआलौभी द्वितीय र उनकी धर्मपत्नीले पनि आजै शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको थियो । जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा हिउँ पग्लिइरहेको र तटीय क्षेत्रका देशसमेत समस्यामा पर्दै गएकाले त्यसलाई न्यूनीकरण गर्न मिलेर जाने विषयमा महत्वपूर्ण छलफल भएको राससले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओली र नाउरका राष्ट्रपति बारोना दिभाभेसी बाक्वाबीच पनि आजै शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा उनीहरुबीच दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने, जलवायु परिवर्तन तथा दुई देशका साझा विषयमा समान धारणाका साथ अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने विषयमा कुराकानी भएको थियो ।

एशिया प्यासिफिक सम्मेलनको दुईवटा महत्वपूर्ण विषय जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय शान्ति भएकाले सोही विषयमा नै प्रधानमन्त्री ओलीले भेटवार्ताका क्रममा जानकारी गराएका थिए ।