अमेरिकाका पूर्वराष्ट्रपति बुसको निधनमा कांग्रेसद्वारा शोक व्यक्त

अमेरिकाका पूर्वराष्ट्रपति बुसको निधनमा कांग्रेसद्वारा शोक व्यक्त


अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज डब्लु बुशको निधनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको देउवाको विज्ञप्तिमा उल्लेख छ ।

दिवंगत बुशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकको घडीमा अमेरिकी सरकार, अमेरिकी जनता तथा स्व बुशको समस्त परिवारजन र आफन्तजनप्रति देउवाले गहिरो समवेदना व्यक्त गरेका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उनका आफन्तलाई उद्धृत गर्दै एएफपीले जानकारी दिएको छ ।

अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उनका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति भएका थिए । पुत्र बुसले आफ्ना बुबालाई संसारकै सबैभन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताएका छन् । उनले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गरेका विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

आफ्नी श्रीमती बार्बारा बुसको निधन भएको केही महिनापछि उनको निधन भएको हो । श्रीमती बुसको गत अप्रिल १७ मा ९२ वर्षको उमेरमा निधन भएको थियो । अमेरिकाको ४१ औं राष्ट्रपतिका रुपमा जर्ज डब्लु बुसले सन् १९८९ देखि १९९३ सम्म देशको नेतृत्व गरेका थिए ।