धनुषामा वैदेशिक रोजगारीका लागि पासपोर्ट लिनेको ओइरो

धनुषामा वैदेशिक रोजगारीका लागि पासपोर्ट लिनेको ओइरो


– रामभरत साह

जिल्ला प्रशासन कार्यालय धनुषामा पासपोर्टका लागि दिनहुँ धाउँदै आएका मनोज मण्डल र दीपेश यादवले दिनहुँ धाएर पनि पासपोर्ट हात पार्न सकेका छैनन् । यी दुई युवा वैदेशिक रोजगारीका लागि कतार र साउदी जाने तयारीमा छन् ।

जिप्रका धनुषामा वैदेशिक रोजगारीका लागि पासपोर्ट लिनेको भीड बाक्लो हुने गरेको र नेपालमै वैदेशिक रोजगारमा सबैभन्दा बढी व्यक्ति यस जिल्लाबाट जाने गरेको जिप्रका धनुषाका प्रशासकीय अधिकृत विपिन ठाकुरले बताए । ठाकुरका अनुसार विगत ९ वर्षमा धनुषाबाट मात्र १३ लाख ३६ हजार ३५ जनाले वैदेशिक रोजगारीका निमित्त पासपोर्ट लिएका छन् ।

आव ०६५÷६६ मा १० हजार ९ सय ५० जनाले पासपोर्ट बनाएका थिए भने आ.व. ०६६/६७ मा ११ हजार ९ सय ४२, ०६७/६८ मा ११ हजार ९ सय २३, ०६८/६९ मा ११ हजार ६ सय ४६, ०६९/७० मा १८ हजार ८ सय ९४, ०७०/७१ मा २१ हजार ३ सय ५७, ०७१/७२ मा २२ हजार २ सय ५९ र ०७२/७३ मा २४ हजार ६ सय ६७ जनाले पासपोर्ट बनाएका थिए ।

यस्तै, धनुषाबाट रोजगारीका लागि बिदेसिने महिलाको सङ्ख्या पनि दिनानुदिन वृद्धि हुँदै गएको छ । विगत नौ वर्षमा दुई सयभन्दा बढी महिलाले वैदेशिक रोजगारीका लागि पासपोर्ट लिएका छन् । यस जिल्लाबाट पासपोर्ट लिन सिफारिस लिएर काठमाडौंबाट लिनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ भने दक्षताको अभावमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको सङ्ख्या पनि अहिले उल्लेख्य छ ।