जंगबहादुर किन बनेनन् श्री ५ महाराजाधिराज ?

जंगबहादुर किन बनेनन् श्री ५ महाराजाधिराज ?


भोटसँगको युद्ध समाप्त भएको चार महिनापछि वि.सं. १९१३ साउन १८ गते तदनुसार सन् १८५६ अगस्त १ ता. का दिन अकस्मात् प्रधानमन्त्री जंगबहादुरले प्रधानमन्त्री र प्रधानसेनापतिको पदबाट राजीनामा गरी आफ्ना माहिला भाइ बमबहादुर कुँवर राणाजीलाई श्री ५ महाराजाधिराज सुरेन्द्रको ‘लालमोहर’समेत दिलाई नेपाल अधिराज्यको प्रधानमन्त्रीको पद दिलाए । कमाण्डिङ्ग कर्णेल कृष्णबहादुर कुँवरलाई पनि प्रधान सेनापतिको पद दिलाए ।

जंगको यो विचित्रको कार्य देखी भाइ–भारदार सम्पूर्ण जनता आश्चर्यमा परे । जंगलाई राजा, भाइ–भारदार, जनता कसैसँग पनि कुनै भय, त्रास थिएन किन यत्रो सत्ता त्यागे, उनको यसप्रकारको क्रियाकलाप कसैले बुझ्नै सकेनन् ।

जे होस्, नयाँ प्रधानमन्त्री बमबहादर नियुक्त भएकोमा ‘दरबार’को आयोजना गरियो, जसमा रेजिडेन्ट मेजर जर्ज ¥यामजेले प्रधानमन्त्री बमबहादुरसँग राजकाजसम्बन्धी वार्ता गरे, तर त्यस वार्तामा एकै आसनमा बसेका भूतपूर्व प्रधानमन्त्री जंगबहादुरले नै रेजिडेन्ट ¥यामजेको सवालको जवाफ दिने गरेको हुँदा रेजिडेन्ट ¥यामजेले भने, ‘म प्रधानमन्त्री बमबहादुरसँग वार्ता गर्दै छु न कि जंगबहादुरसँग ।’ रेजिडेन्ट ऱ्यामजेको त्यसप्रकारको होच्याइले जंगबहादुरलाई दुखित मात्र तुल्याएको होइन कि सतर्कसमेत गरायो । जंगले आफूलाई दाँत, नङ्ग्रा फुत्केको सिंहसमान सम्झन थाले । उनले प्रधानमन्त्रीको पद आफ्नै इच्छाले राजीनामा गरी भाइ बमबहादुरलाई दिलाएका थिए । अब सो पद पुनः आफैँले हत्याउन पनि उनले सकेनन् । त्यसो गर्नु पनि उचित भएन । तसर्थ जंगबहादुर छटपटिन थाले ।

जंगबहादुरले नियत बिगारेनन् । कुनै–कुनै इतिहास लेखकहरूले जंगले दुईपटक नियत बिगारेका छन् भनी लेखेका पनि छन् । तर, महत्वाकाङ्क्षी, दूरदर्शी जंगबहादुर अगाडि नै चौतर्फी विचार गर्थे ।

यसै अवसरमा शक्तिशाली जंगबहादुरको चाप्लुसी र चाकडी गर्ने मौका देखेर धर्माधिकार गुरुराज पण्डित, विजयराज पाण्डे, कर्णेल तिलविक्रम (त्रिविक्रम) सिंह थापा– ‘काजी मामा’, काजी हेमदल थापा, डिल्लीसिंह बस्नेत, काजी करवीर खत्रीहरू अग्रसर भई थापाथली दरबार पुगे र जंगबहादुरसँग भने,
‘हामी र हाम्रा देशवासीहरूको मनसायबमोजिम यो दर्शाउन आएका छौँ कि राष्ट्रमा सानातिना कार्य गर्नेहरूले पदक, खिताब, मानमर्यादा इत्यादि पाउँछन् भने सरकार (जंगबहादुर) ले त पछिसम्म राष्ट्रको हित हुने अनेक कार्यहरू गरिबक्सेको छ । यस विषयमा हामी सम्पूर्ण देशवासीहरू आभारी छौँ । साथै सरकारको कार्यको कदर र इज्जत गर्दै यो बिन्ती चढाउन आएका छौँ कि राष्ट्रको उच्च पदमा (श्री ५ को पदमा) सरकार विराजमान भइबक्सनुपर्दछ, अन्यथा राष्ट्रमा अराजकता हुनेछ ।’

जंगबहादुरले नियत बिगारेनन् । कुनै–कुनै इतिहास लेखकहरूले जंगले दुईपटक नियत बिगारेका छन् भनी लेखेका पनि छन् । तर, महत्वाकाङ्क्षी, दूरदर्शी जंगबहादुर अगाडि नै चौतर्फी विचार गर्थे । भारदारहरूको जबर्जस्त इच्छा र आकाङ्क्षाको साथै प्रोत्साहनसमेत पाएकाले जंगबहादुरले भने, ‘मैले नै राजा सुरेन्द्रलाई गद्दीमा राखेको हुँ, अन्यथा साहिँला साहेवज्यू रणेन्द्रविक्रम शाह गद्दीमा बस्ने थिए । यो सबै तिमीहरूमा बोध भएकै कुरा हो । मउपर तिमीहरूको भावना र आकाङ्क्षाको म कदर गर्दछु, तर म आफैले फेरि गद्दीबाट उतार्ने अनुचित कार्य गर्दिनँ । म राष्ट्रको राम्रैसँग कार्य चलाउन सक्छु, तसर्थ यस विषयमा म सोच–विचार गरेर मात्र गर्नुपर्ने कार्य गर्नेछु । मेरो हितको कुरा गर्न तिमीहरू आयौ, धन्यवाद, लौ अहिलेलाई तिमीहरू जाओ ।’ यति भनेर जंगले सबैलाई फर्काइदिए ।

जंगबहादुर यति शक्तिशाली भइसकेका थिए कि उनले चाहेको भए सजिलै राजा सुरेन्द्रलाई पदच्यूत गरी गद्दीनसीन हुन सक्थे । राजा कमजोर मनस्थितिका भएकाले त्यसबेला जनतामा समेत जंगबहादुरले आफ्नो प्रभाव पारिसकेका थिए । तसर्थ नेपाल अधिराज्यको सार्वभौमसत्ता जंगले सजिलै हत्याउन सक्थे । तर, उनले त्यसप्रकारको गद्दारी गरेनन् । बरु बमबहादुर कुँवर प्रधानमन्त्री भएको हप्ता दिनमै अर्थात् वि.सं. १९१३ साउन २४ गते तदनुसार सन् १८५६ अगस्त ६ तारिखका दिन सन्तान–दरसन्तानले पाउने गरी उनन्चालीस वर्षकै उमेरमा ‘कास्की र लमजुङ’को श्री ३ महाराजको खिताब श्री ५ सुरेन्द्रद्वारा लालमोहरसहित प्राप्त गर्नमा जंगबहादुर सफल भए ।

(श्री ३ हरूको तथ्य वृत्तान्त)