युवा स्वरोजगारका लागि वडास्तरमै कार्यक्रम

युवा स्वरोजगारका लागि वडास्तरमै कार्यक्रम


गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेसा–व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालू आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको वडाध्यक्ष रेग्मीले बताए । ‘कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएकोे छ,’ उनले भने, ‘समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी गरेका छौँ ।’

स्वरोेजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेसा–व्यवसाय गर्नुपर्ने र कम्तीमा पाँच वर्ष सोही पेसालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराइने उनको भनाइ छ । ‘पुराना पेसा–व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ,’ वडाध्यक्ष रेग्मीले भने, ‘धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा छनोट गरिनेछ ।’

रेग्मीका अनुसार कार्यक्रमअन्तर्गत वडाले व्यक्तिलाई कम्तीमा रु. ५० हजार र समूहलाई रु. दुई लाखसम्मको अनुदान सहयोग गर्नेछ । अधिकांश युवा सामान्य रोजगारीका लागि बिदेसिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिन कार्यक्रम शुरु गरिएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।

तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यहीँ राम्रो आम्दानी गर्न सकिने उनले बताए । ‘अहिले युवा मििहनामा २०–३० हजार रुपैयाँ कमाउन विदेश पुग्छन्, यहीँ तरकारीखेती गरेर मासिक रु. ५० हजारसम्म कमाउने पनि छन् ।’ वडाध्यक्ष रेग्मीले भने । युवालाई गाउँमै राखेर आत्मनिर्भर बनाउन सके गाउँको मुहार फेरिन समय नलाग्ने उनको भनाइ छ ।