अमेरिका–चीनबीच थप कर नलगाउने सहमति

अमेरिका–चीनबीच थप कर नलगाउने सहमति


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एक–अर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो ।

दुई राष्ट्रपतिबीच हाल एक–अर्का मुलुकका सामानमाथि लागिआएका करहरूमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्नेबारे सहमति भने हुन सकेन । दुई नेताबीच अढाइ घन्टाभन्दा बढी चलेको रात्रिभोजपश्चात् ह्वाइटहाउसले आगामी जनवरी १ देखि चिनियाँ सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ । ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ ।

यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ह्वाइटहाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीजी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनसआयर्समा रहेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रूपमा यो सम्झौता भएको छ ।’ सम्झौताबमोजिम अर्को वर्षको शुरुबाटै चिनियाँ सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पु¥याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ । तैपनि, यो आंशिक सम्बोधन मात्र हो ।

झन्डै ५० अर्ब डलरबराबरका चिनियाँ सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ । साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब दुई सय अर्ब डलरबराबरका चिनियाँ सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिएका छन् ।

यहीबीच, चीनले करिब ११० अर्ब डलरबराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । चीनमा रहेका व्यापारिक अवरोधहरू, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाइ आएको अमेरिकी आरोप छ । यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीनविरुद्ध थप दण्डात्मक कारबाही गरिने अमेरिकाले चेतावनी दिइआएको छ ।

अमेरिकी राष्ट्रपतिले जारी गरेको एक वक्तव्यमा चीन र अमेरिकासँग असीमित सम्भावनाहरू रहेको बताउँदै चिनिया राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गरे ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, ‘हामीबीचको सहयोगात्मक कार्यहरूले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ ।’ दुवै नेताबीचको रात्रिभोज सोचिएकोभन्दा लामो समय चलेको थियो । रात्रिभोजमा अमेरिका र चीनका उच्च अधिकारीहरूको समेत सहभागिता थियो ।