तीन राप्रपाको एकताले चाँडै पूर्णता पाउने : डा. लोहनी

तीन राप्रपाको एकताले चाँडै पूर्णता पाउने : डा. लोहनी


पूर्वअर्थमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)सँगको पार्टी एकताले छिट्टै पूर्णता पाउने बताएका छन् ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा डा. लोहनीले सो खुलासा गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापाले केही समयका लागि पार्टी एकता कार्य स्थगित रहेको बताइरहेका बेला आएको डा. लोहनीको सो भनाइलाई राजनीतिक रूपमा विशेष अर्थपूर्ण मानिएको छ ।

स्मरण रहोस्, राप्रपाबाट विभाजित भएका बेला पशुपतिशमशेर राणाले करिब ४० प्रतिशत केन्द्रीय सदस्य लिएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए भने डा. लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्दा उनको गुटमा कुनै केन्द्रीय सदस्य गएका थिएनन् ।

राप्रपाका अन्य अधिकांश नेताहरूले अहिलेको अवस्थामा पार्टी एकता अपरिहार्य रहेको भन्दै तीनवटै राप्रपाका शीर्ष नेतालाई दबाब दिँदै आएकाले पार्टी एकताका लागि थापा, राणा र लोहनीबीच पटक–पटक वार्ता भइसकेको छ ।

राप्रपाका अधिकांश नेताले कमल थापाकै कारण पार्टी एकता रोकिएको बताउँदै आएका छन् । तर, थापा स्वयंको भनाइ भने बेग्लै रहेको छ । उनी आफ्नो कारणले पार्टी–एकता नबिथोलिएको, बरु पार्टी एकताका लागि आफू हदैसम्म लचक भएको बताउँदै आवश्यक परे पार्टी अध्यक्ष पशुपतिलाई छोड्न तयार रहेको बताउँछन् ।

पार्टी एकताका लागि तयार भए केन्द्रीय सदस्यमा पनि ५० प्रतिशत राणा र १५–२० प्रतिशत लोहनीलाई छोड्न तयार रहेको उनको भनाइ छ । उनको यस भनाइबाट थापा पार्टी एकताका लागि विशेष लालायित रहेको बुझिन्छ । तर, थापाको अस्थिर स्वभावलाई नजिकबाट नियाल्नेहरू उनको भनाइप्रति विश्वस्त हुन नसकिरहेका छैनन् ।