रामाफोसा भारतको ७०औँ गणतन्त्र दिवसका प्रमुख अतिथि

रामाफोसा भारतको ७०औँ गणतन्त्र दिवसका प्रमुख अतिथि


भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्ने भएका छन् ।

आउँदो जनवरी २६ का दिन हुने ७०औँ गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जानकारी दिएका हुन् । मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरूको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रूपमा उपस्थित भइदिन अनुरोध गरेको बताइन्छ ।

दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष र नजिकको सम्बन्ध भएकाले त्यही देशका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागेको मोदीले बताएका छन् । भारतमा राष्ट्रपिताका रूपमा सम्मान गरिने गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा बिताएका थिए । दक्षिण अफ्रिकामा रहँदा गान्धीले अधिवक्ताको रूपमा काम गरेका थिए ।

भारतमा भएको अहिंसा आन्दोलनको योजना पनि गान्धीले दक्षिण अफ्रिका रहँदै बनाएका थिए । काला जातिका मानिसलाई गोरा जातिका मानिसले गरेको भेदभावबाट रुष्ट भएर उनले भारतमा अंग्रेज शासनविरुद्ध अहिंसात्मक आन्दोलन शुरु गरेको बताइन्छ ।

भारतले अर्को वर्ष गान्धीको १५०औँ जन्मजयन्ती मनाउन लागेको छ । यसअघि भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका लागि आमन्त्रण गरे पनि समय अभाव जनाउँदै उपस्थित हुन नसक्ने बताएका थिए ।