लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

लिफ्टिङ खानेपानी आयोजना सम्पन्न


रामपुर नगरपालिका–५ मा बहखोलामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा बहखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाबाट रु पाँच लाख विनियोजित रकममध्ये रु तीन लाख ६४ हजार ४०० प्राविधिकको लागत इष्टमेट र १०० स्थानीयवासीको जनश्रमदानमा आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष मित्रलाल ढकालले बताए । यहाँ खानेपानीको दिगो स्रोत नहँुदा छ महीना बस्तीदेखि तल रहेको बहखोलाबाट एक घण्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउनुपर्ने बाध्यता थियो । बस्तीदेखि करीब ३०० मिटर तल रहेको सुघुरे खोलाबाट लिफ्टिङ गरेर खानेपानी बस्तीमा लगिएको छ ।

गाउँमा खानेपानीको आयोजना सम्पन्न भएपछि खडेरीयाममा ठूलो राहत पुग्ने स्थानीयवासी रुद्र श्रेष्ठ बताउँछन् । ‘माघदेखि असारसम्म खानेपानीको निकै समस्या हुन्थ्यो, डोकोमा नै बोकेर जीविका चलाउने हो, अब यो समस्याबाट मुक्त हुने भइयो’, उनले भने । परिक्षणका लागि उक्त आयोजनाको पानी केही समय उपभोग गरे पनि अहिले गाउँमा पानीको अभाव नभएका कारण पुरानै पानी प्रयोग गरिरहेको स्थानीयवासी विष्णुमाया श्रेष्ठ बताउँछन् । यस आयोजनाबाट यहाँका करीब १८ घरपरिवारका स्थानीयवासीलाई ठूलो राहत मिल्नेछ । यहाँ यस आयोजनाबाट खानेपानी उपभोग मात्र नभई तरकारीलगायतका विभिन्न बालीनाली सिँचाइ गरेर राम्रो आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना छ ।