संयुक्त राष्ट्रसङ्घका महासचिवको किएभ भ्रमणको चाहनालाई जेलेन्स्कीद्वारा अस्वीकार

संयुक्त राष्ट्रसङ्घका महासचिवको किएभ भ्रमणको चाहनालाई जेलेन्स्कीद्वारा अस्वीकार


रुसमा आयोजित शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सहभागिता जनाएका कारण उनको युक्रेन भ्रमण गर्ने चाहनालाई युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अस्वीकार गरेका छन् । युक्रेनी राष्ट्रपति कार्यालयको उच्च स्रोतलाई उद्धृत गर्दै एएफपीले महासचिव गुटरेसको कियभ भ्रमण गर्ने चाहनालाई जेलेन्स्कीले उपेक्षा गरेका हुन् ।

रुसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा गुटेरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसामु दुई वर्षभन्दा बढी लडाइँको अन्त्यको आह्वान गर्दै युक्रेनमा ‘न्यायपूर्ण शान्ति’को लागि आह्वान गरेका थिए । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका २० नेताहरूको बैठकमा गुटेरेसको सहभागिताले किएभमा भने आक्रोश उत्पन्न गराएको थियो ।

‘कजानपछि गुटेरेस युक्रेन आउन चाहनुहुन्थ्यो तर राष्ट्रपति जेलेन्स्कीले उहाँको भ्रमणको पुष्टि गर्नुभएन, त्यसैले विशेषगरी कजानमा विवेक र अन्तर्राष्ट्रिय कानूनको अपमानका कारण गुटेरेस यहाँ आउनुहुने छैन’, युक्रेनी सुत्रको हवाला दिँदै एएफपीले उल्लेख गरेको छ ।

कजानमा पुटिनसँगको वार्तामा गुटेरेसले युक्रेनमा रुसी आक्रमण संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन थियो भन्ने कुरालाई दोहोऱ्याएका थिए ।

ती द्विपक्षीय वार्ताअघि युक्रेनी विदेश मन्त्रालयले गुटेरेसको कजान भ्रमणको निर्णयको आलोचना गर्दै गत जुनमा युक्रेनले स्विट्जरल्यान्डमा आयोजना गरेको शान्ति शिखर सम्मेलनमा पनि गुटरेसले भाग नलिएको भन्दै युक्रेनी मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ, ‘यो गलत छनोट हो, यसले शान्तिको कारणलाई अगाडि बढाउँदैन । यसले केवल संयुक्त राष्ट्रसङ्घको प्रतिष्ठालाई क्षति पुऱ्याउँछ ।’