प्रवासमा किन दुख्यो दीपेन्द्रको दिल ?

प्रवासमा किन दुख्यो दीपेन्द्रको दिल ?


– राजन घिमिरे, अष्ट्रेलिया

नेपाल रहँदा कलाकारिता क्षेत्रमा राम्रैसँग लागिपरेका थिए दीपेन्द्र कार्की । त्यतिबेला केदार घिमिरे माग्ने बुढा, सिताराम कट्टेल धुर्मुस, गोपाल ढकाल छन्दे र निरादन सिग्देल लगायतका कलाकारहरू यिनका सहकर्मी थिए ।

आज दीपेन्द्र अष्ट्रेलियाको सिड्नीमा छन् भने उनका सहकर्मीहरूले कलाकारिता विधामा नाम कमाइरहेका छन् । यसमै खुशी छन् दिपेन्द्र र भन्छन्, ‘जीवन एक अनन्त यात्रा हो, को कहाँ पुग्छ थाहा हुँदैन । म यतिबेला प्रवासमा छु तर मेरा साथीहरूको प्रगति देख्दा मन नै फुरुङ्ग भएर आउँछ ।’

सिड्नीस्थित आफ्नो कार्यालयमा खुलेर कुराकानी गर्दै उनले बताएअनुसार उनी अष्ट्रेलिया आएको ९ वर्ष भएछ । यसबीचमा मेलबर्नमा उनी ४ वर्ष बसे भने २ वर्ष ब्रिजबेनमा बसे । अहिले भने उनी सिड्नीमा परिवारका साथ बस्दै आएका छन् ।

तितो सत्यमा पनि ४ वर्ष अभिनय गरेका दीपेन्द्रले प्रवासमा नेपालको कलाकारितासँगको सम्बन्धलाई बिर्सेका छैनन् । त्यसैले त त्यो नशालाई पुरा गर्न उनले नेपाली चलचित्रहरूलाई अष्ट्रेलिया ल्याएर नेपाली सिनेमाको बजार विस्तार गरिरहेका छन् । ‘मैले छक्कापन्जा-१ र जात्रा फिल्म अष्ट्रेलिया लेराएको थिएँ, पर्दामा देखिन नपाए पनि पर्दापछाडिबाट कलाकारिता गरिरहेको छुु,’ उनले भने ।

विद्यार्थी रूपमा अष्ट्रेलिया छिरेका दीपेन्द्र अहिले शैक्षिक परामर्शदाताको रूपमा पनि परिचित र कृयाशील छन् । टिईसी ग्रुप एजुकेशन कन्सल्टेन्सीसँग आबद्ध उनलाई पर्दामा अभिनय गर्ने इच्छा त छ तर समय र परिस्थिति अनुकुल नबन्दा भने दुःखी छन् । अभिनय गर्न नपाए पनि अप्रत्यक्ष रूपमा भने कलाकारितालाई नै समातिरहेको दाबी गर्छन् उनी ।

दीपेन्द्र सिड्नीको किंग्स फोर्ड एअरपोर्टमा पनि काम गर्छन् भने पार्ट टाईम भने कन्यल्टेन्सीसँग आवद्ध छन् । प्रवासको जहिले पनि काम र ब्यस्त जीवनमा पनि आफ्नाहरूको नकारात्मक सोच र कृयाकलापबाट दिपेन्द्र दिक्क पनि छन् । हावाको भरमा भ्रामक अफवाह फैलाउने कार्यको शिकार भएका छन् उनी । सोझो हिसाबले आफ्नो काम गर्दा पनि यहाँ गलत हल्ला फैलाउँछन् । हामी नेपालीको बानी जहाँ गए पनि किन नसुध्रिएको होला भन्दै तिक्तता प्रकट गर्छन् उनी ।