नाकाबन्दीपछि ओपेकबाट बाहिरिँदै कतार

नाकाबन्दीपछि ओपेकबाट बाहिरिँदै कतार


खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरूको संगठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जामन्त्री साद अल–काबीले अब कतार ग्यास उत्पादनमा केन्द्रित रहने बताएका छन् ।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।’

उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भए पनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।

‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनैपर्छ । हाम्रो क्षमता नै ग्यास हो,’ मन्त्री साद अल–काबीले भने । सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । मन्त्री काबीले कतारको निर्णयबारे ओपेकलाई पूर्वजानकारी दिइएको बताए ।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ ।