पाठक मञ्च

पाठक मञ्च


pathakmanchप्रहरीको संलग्नता छैन
घटना र विचार साप्ताहिकको वर्ष २० अङ्क १० मा ‘अस्पताल पनि गुन्डा परिचालनमा !’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौंमा सञ्चालित अस्पतालले पृथ्वी राजमार्गमा भएका सवारी दुर्घटनामा परी घाइते भएकालाई अवाञ्छित मानिस परिचालन गरी कब्जामा लिने र निश्चित अस्पतालमा लैजाने गरेको भन्ने खबरबारे हामीले सत्य–तथ्य बुझी दोषीलाई कारबाही गर्ने र त्यसप्रकारका घटना हुन नदिन सचेतना जगाउने÷अपनाउने काम हामीबाट भइरहेको छ । यसै सन्दर्भमा इप्रका गजुरीका प्रहरी निरीक्षकको काम–कारबाहीमाथि समेत प्रश्न उठ्ने गरी समाचार प्रकाशित भएकोमा हामी दुःखी भएका छौँ । हामी आफ्नो कर्तव्य निष्पक्ष, न्यायपूर्ण र निर्भयका साथ निर्वाह गरिरहेका छौँ । कुनै पनि अनुचित कार्यमा प्रहरीको संलग्नता हुने कुरा हामी कल्पना गर्न पनि सक्दैनौँ । प्रहरीप्रतिको जनविश्वासमा आँच उत्पन्न हुने गरी प्रकाशित समाचारको खण्डन गर्दै त्यसप्रकारको गलत समाचार आइन्दा प्रकाशित हुने छैन भन्ने आशा गर्दछौँ । समाचारका कारण उत्पन्न भ्रममा नपर्न हामी सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
– प्रहरी निरीक्षक
इलाका प्रहरी कार्यालय (पृथ्वी राजमार्ग, गजुरी)

प्रहरी अधिकारीहरू किन पढ्दै छन् फ्रेन्च ?
पछिल्लो समय नेपालका प्रहरीले शान्ति मिसनमा कम अवसर पाउन थालेका छन् । केही मिसन धमाधम बन्द भए भने नयाँ शान्ति मिसनमा नेपाल प्रहरीले अवसर पाइरहेका छैनन्, जसले गर्दा फौजी जागिरकै सबैभन्दा आकर्षक अवसरका रूपमा लिइने शान्ति मिसन नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि ठूलो सपना हुन थालेको छ । प्रहरी जाने गरेको इस्टटिमोर मिसन दुई वर्षअघि नै बन्द भइसकेको छ भने हाइटी मिसन पनि बन्द हुने क्रममा छ । हाल त्यहाँ पर्यवेक्षकको रूपमा एकजना प्रहरी मात्र बाँकी छ । बुझिएअनुसार एफपीयू मिसन पनि बन्द हुने तयारीमा छ । धेरै अवसर पाउने सुडान र दक्षिण सुडानमा पनि निरन्तर सङ्ख्या घटिरहेको छ । सुडानमा त्यहाँको सरकारले भिसा दिइरहेको छैन र सङ्ख्या कटौती गर्दै लगेको बुझिन्छ । यस्तै, दक्षिण सुडानमा नेपालीभन्दा अरू देशका प्रहरीले प्राथमिकता पाउन थालेका छन् । त्यसकारण स्याट परीक्षा पास गरेर महिनौँ कुर्दासमेत प्रहरी अधिकारी मिसन जान सकेका छैनन् । माग हुने कोटामा जान प्रहरी हेडक्वार्टरको यूएन शाखामै ठूलै सोर्सफोर्स चल्ने गरेको छ ।
राष्ट्रसङ्घले थप जनशक्ति मगाएका माली, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा प्रहरी जान सकेका छैनन् । गत वर्षबाट त्यहाँ सेना गएको छ । पर्यवेक्षकका रूपमा फ्रेन्च भाषा जानेका प्रहरी चाहिने भन्दै नेपालीले अवसर पाएका छैनन् । माली र सेन्ट्रल रिपब्लिकमा नेपाली अधिकारीले लबिङ भने गरिरहेका छन् । ती देशमा फ्रेन्च भाषाको ज्ञान चाहिने भएकाले नेपाल प्रहरी र सशस्त्रमा यतिबेला फ्रेन्च भाषा पढ्ने लहर चलेको छ ।
– सुरोधकुमार, काठमाडौं