पृथकतावादीको आक्रमणमा ३१ कामदार मारिए

पृथकतावादीको आक्रमणमा ३१ कामदार मारिए


इन्डोनेसियाको सधैँ अशान्त भइरहने क्षेत्र पपुवामा पृथकतावादीहरूले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ ।

सुरक्षाकर्मीले मारिएका ती कामदारहरूको शव निकाल्ने कोसिस गरिरहेका छन् । यसलाई पृथकतावादीहरूले गरेको एक भीषण आक्रमणको रूपमा लिइएको छ ।

पपुवाका प्रहरी प्रवक्ता सूर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरूमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको थियो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो ।

अन्य आठजना कामदार स्थानीय संसद् सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताए । एकजना भने त्यहाँबाट भागेको, तर उनी हालसम्म बेपत्ता रहेको बताइएको छ ।