विप्लवले नेतृत्व गरेको नेकपासँग एकता नहुने वैद्यको खुलासा

विप्लवले नेतृत्व गरेको नेकपासँग एकता नहुने वैद्यको खुलासा


मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले देशमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ । सो पार्टीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

मङ्सिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको बैठकले गरेको निर्णय मंगलबार बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । उक्त बैठकले हत्या, हिंसा, बलात्कार, आदिवासी जनजाति, उत्पीडित वग, सीमा अतिक्रमणलगायतका विषयलाई लिएर देशव्यापी रुपमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

सन् १९५० लगायतका असमान सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको बताइएको छ । यस्तै साझा मुद्दामा विभिन्न राजनीतिक शक्ति तथा पक्षसँग मिलेर संयुक्त सङ्घर्षका कायक्रम गर्ने निर्णय सो पार्टीले गरेको छ ।

बैठकको निर्णबारे जानकारी दिन पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताए । मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको भन्दै उनले तत्काल नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीसँग भने एकता नहुने जानकारी दिए ।