प्रचण्डको दाबी : ‘दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ’

प्रचण्डको दाबी : ‘दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ’


मौका हेरेर कुरा गर्ने र बोलेका कुराले विवाद जन्माए अस्वीकार गर्दै सहजै उम्कने प्रवृत्तिका लागि कहलिएका प्रचण्डले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएकोे बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै नेकपा अध्यक्ष प्रचण्डले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने दाबी गरे ।

ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको उनको भनाई थियो ।

नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको उनले बताए । चीनसँग चारवटा बन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दाबी गर्दै उनले अब देश भूपरिवेष्ठित देशको रुपमा होइन, समुन्द्रसँग जमीनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने उल्लेख गरे ।

तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न सरकार अघि बढेको भन्दै उनले स्थानीयवासीलाई खुशी पार्ने प्रयत्न गरे ।

यसैगरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उनले बताए । देशभित्रका लगानीकर्तालाई उत्प्रेरित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न प्रचण्डले सरकारसँग आग्रह गरे ।