संघीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार संसदीय सुनुवाइ गर्ने भएको छ ।
समितिको बुधबारको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स र डा. अञ्जान शाक्यको नाम इजरायलका लागि राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।
समितिको अघिल्लो बैठकले प्रस्तावित राजदूतको सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो ।
उक्त अवधिमा प्रस्तावित राजदूतका सम्बन्धमा व्यक्तिलक्षित गरेर कुनै उजुरी नपरे पनि अधिवक्ता सतिशराज मैनालीले राजदूत नियुक्तिका सम्बन्धमा उमेर हद, अनुभव, पदावधि, समावेशिताको आधारलगायतका महत्वपूर्ण विषयवस्तु, विधि र प्रक्रियाबारे लिखित सुझावमार्फत समितिको ध्यानाकर्षण गराएका छन् । बैठकले राजदूतले कसरी काम गर्नुपर्छ, देशको इज्जत र प्रतिष्ठा बढाउन के–कस्तो काम गर्नुपर्छ, भन्ने सन्दर्भमा आगामी शुक्रबार अनुभवी पूर्वराजदूतसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
समितिले पूर्वराजदूत पुष्करमानसिंह राजभण्डारी, रामभक्त पीभी ठाकुर, प्रह्लादकुमार प्रसाईं, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतसँग परामर्श गर्ने निर्णय गरेको हो । समितिले राजदूत नियुक्तिका सम्बन्धमा लिखित सुझाव प्रस्तुत गरी सहयोग पु¥याउने अधिवक्ता मैनालीलाई उजुरीकर्ताको रूपमा बोलाएर राय सुझाव लिने निर्णय पनि गरेको छ ।
यसअघि बैठकमा सांसद योगेश भट्टराई, भीमसेनदास प्रधान, अमृता थापामगर, जीतेन्द्रनारायण देवलगायतले यसपटक प्रस्तावित राजदूतका सम्बन्धमा गम्भीर प्रकृतिका उजुरी नपरे पनि नियुक्त हुने राजदूतलाई परिवारलाई विदेश घुमाउने तथा मन्त्री र सांसदलाई विमानस्थल लिन र पु¥याउन आउनेभन्दा मुलुकको प्रतिष्ठा बढाउने काममा लगाउने नीति बनाउन आवश्यक रहेको सुझाव दिएका थिए ।
रासस
प्रतिक्रिया