मानवतस्करीको आरोप लागेकी राजदूतबारे सरकार मौन भएपछि…

मानवतस्करीको आरोप लागेकी राजदूतबारे सरकार मौन भएपछि…


मानवतस्करी जस्तो अपराधसँग राजदूतकै नाम जोडिनु गम्भीर विषय हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा पनि केही समययता मानवतस्करी गरी आफूनिकटकै व्यक्तिलाई ठगी गरेर पीडित तुल्याएको आरोप लागेको छ । यसबारे समाचार सार्वजनिक भएपछि नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले एक प्रेस नोट जारी गर्दै ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई आफूहरुले गम्भीर रुपमा लिएको जनाएका छन् ।

उक्त प्रेस नोटमा राजदूत शेर्पाकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई झनै गम्भीर र दुःखद रुपमा लिनुपरेको उल्लेख गरिएको छ ।

कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं ।’

‘अतः तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’