लेखा प्रणाली चुस्त बनाइने

लेखा प्रणाली चुस्त बनाइने


प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लेखा प्रणालीलाई चुस्त र व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

महालेखापरीक्षक कार्यालयको टोलीसँग भएको छलफल तथा अन्तरक्रियामा उनले उपयुक्त समयमा महालेखापरीक्षकको कार्यालयको टोली आएको र यसले लेखा प्रणाली व्यवस्थित गर्न सघाउ पुग्ने बताए । उनले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिँदा पछि समस्या नपर्ने जिकिर गरे ।

सोे टोलीसँग मुख्यमन्त्रीले रिपोर्टमा कैफियत निकाल्नुभन्दा पहिले सजग गराएर समस्या समाधान हुनुपर्ने र कार्यालय व्यवस्थापन भए सुशासन कायम गर्न सहज हुने उल्लेख गर्दै प्रदेश सरकार कार्यालय व्यवस्थापनको समस्यामा परेको बताए । महालेखापरीक्षक टङ्कमणि शर्माले आर्थिक तथा खर्च प्रणालीलाई चुस्त बनाउनुपर्ने र त्यसका लागि समन्वय आवश्यक रहेको बताए । प्रदेश सरकारका प्रमुख सचिव डा तीर्थराज ढकालले प्रदेश कार्यपालिका र कार्य सम्पादनबारे जानकारी गराए । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले प्रदेशको अर्थ व्यवस्था र योजना सञ्चालन अवस्थाबारे जानकारी गराए ।