६८ वर्षअगाडि के.आई. सिंहले पोखरामा गरेको त्यो भाषण

६८ वर्षअगाडि के.आई. सिंहले पोखरामा गरेको त्यो भाषण


डोटी जिल्लाको डुम्राकोटमा कुँवर नरध्वज शाहीको छोराको रुपमा १९६३ बैशाख १३ मा जन्मेका थिए डा. के.आई. सिंह । बाबुले शुरुमा कुँवर इन्द्रध्वज शाही नाम राखिदिए पनि पछि इन्द्रजित शाही हुँदै उनी कुँवर इन्द्रजित सिंह भए, तर उनको चर्चा भने डा. के.आई. सिंह नामले नै भयो ।

सानै उमेरमा भारतको लखिमपुर गएका केआई सिंह पढाइ सकिएपछि अंग्रेज सेनामा भर्ति भएका थिए, तर फेरि सेनाको जागीर छोडेर उनी होमियोप्याथी डाक्टर बनेका थिए । ब्यवसायको सिलसिलामा बर्मा गए । दोश्रो विश्व युद्धको समाप्तीपछि भारत फर्केर नेपाली सीमा नौटनवामा औषधी दुकान खोलेर बसे । यहीँ नै उनी होमियोप्याथिक डाक्टर बने ।

नौतनवा बसाइकै क्रममा नेपालीहरु बढी उपचारमा आउने हुँदा उनलाई नेपालसम्बन्धी ज्ञान पनि बढ्यो साथै नेपाली राजनीतिमा रुचि पनि जाग्यो । बिस्तारै राणाविरोधी गतिविधिमा लागेपछि राणा सरकारले उनलाई नेपाल प्रवेशमा रोक लगायो । यसैबीच राजा त्रिभुवनको दिल्ली पलायन भयो । भारतको सहभागितामा गोप्य रुपमा राणा, राजा र भारतको सम्झौता भयो । राजाको स्वदेशी फिर्तीपछि उनले खुलेरै दिल्ली सम्झौताको विरोध गर्न थाले ।

राणा शासनको समाप्तीपछि पनि मोहनशम्शेरलाई नै प्रधानमन्त्री बनाइँदा उनको चित्त बुझेको थिएन । प्रजातन्त्र घोषणाको भोलिपल्ट नै २००७ फागुन ८ गते दिउँसो ४ बजे उनले भैरहवामा आक्रमण गरे । यो आक्रमणमा नेपाली सेनाका पनि चार जनाको मृत्यु भयो । साथै के.आई. सिंहको समुहका ९ जना मारिए, ९ जना समातिए ।

यसको लगत्तै नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरि भोलिपल्टै फागुन ९ गते उनि सहित ३५७ जना समातिए । भारत सरकारले उनलाई नेपालमा सुपुर्दगी गऱ्यो । यसपछि भैरहवा जेलमा रहेका उनि असार २७ मा जेल तोडेर भागे । २००८ साउन २५ मा समाइएका उनलाई भदौ २७ मा काठमाडौं पुऱ्याइयो । काठमाडौमा सिंहदरबारमा कैद राखियो भने अन्य सहयोगीहरुलाई श्रीमहल, नक्खु तथा सेन्ट्रल जेलमा राखियो ।

यता विद्यार्थी आन्दोलनको क्रममा कार्तिक २० गते चिनियाकाजीको सैनिकको गोलीबाट मृत्यु भएपछि गृहमन्त्रीको हैसियतमा बीपीमाथि दबाब सिर्जना भयो । अन्तत गृहमन्त्री बीपीले राजिनामा दिए । त्यसपछि मोहन शम्शेरको नेतृत्वको सरकार २००८ कार्तिक २६ गते ढल्यो । मंसिर १ गते मातृकाको नेतृत्वमा नयाँ सरकार बन्यो । माघ ४ मा रक्षा दलका विद्रोही मध्यका रामप्रसाद राई तथा अग्निप्रसाद खरेल समातिए । माघ ८ को राति रक्षा दलको सिंहदरबारमा रहेको ब्यारेकमा रहेको तीन बटालियनका २७०० जति रक्षा दलका सैनिकले विद्रोहको शुरुवात गरे ।

रक्षा दलले सबैभन्दा पहिले सिंहदरबारभित्र कैद भएका कैदीहरुलाई मुक्त गऱ्यो । कैदी मध्यका के.आई. सिंहलाई उनिहरुले अगुवाको रुपमा उभ्याए । रामप्रसाद राई एवं अग्नीप्रसाद खरेललाई पनि रिहा गराए । रक्षा दलले बिजुली अड्डा कब्जा गरेर राती उपत्यकालाई अन्धकार बनाइदिए । त्यसपछि आकाशवाणी र टेलिफोन पनि कब्जा गरेर सञ्चारबाट बन्देज गराइदिए । रातारात विद्रोहीहरुले ठिमीको गठ्ठाघर, सानो टुँडिखेलको जंगी अड्डा, तोपखाना, हतियार भण्डार, विमानस्थल, मुलुकी खाना तथा सिंहदरवारको सेक्रेटरियट पनि कब्जा गरिसकेका थिए । बिहान सम्ममा सबैजसो प्रमुख कार्यालय रक्षादलको नियन्त्रणमा आइसकेको थियो । धेरैजसो मन्त्री तथा प्रधानमन्त्री सुरक्षाको लागी राजदरबारमा शरण लिन पुगेका थिए ।

यसरी आफ्नो नियन्त्रणमा लिएको भए पनि रक्तपातपूर्ण हुन सक्ने सम्भावना देखेपछि दिउँसो २ बजे दरबारको प्रत्युत्तरको प्रतिक्षा नगरि के.आई. सिंह आफ्नो विश्वासिलो समुहको साथ सिंहदरबार दक्षिण ढोकाबाट चुपचाप निस्किए । उनले आत्मसमर्पण गरेनन् । सैनिकले उनको समुहमाथि कुनै आक्रमण गरेन । करिव १६-१७ घण्टामा नै विद्रोह समाप्त भयो । यस विद्रोहलाई पछि मातृका सरकारले अतिरञ्जित रुपमा प्रचारवाजी गरेर के.आई. सिंह गलत भएको प्रमाणित गर्न खोजे ।

यसरी सिंहदरबारबाट चुपचाप हिँडेका केआई सिंह सहितको समुह तिब्बतमा शरणार्थीको रुपमा रहेर साढे तीन वर्षपछि चीनियाँ सरकारको अनुरोधमा नेपालले उनलाई फिर्ता बोलाउन तैयार भयो । २०१२ भदौ २७ मा काठमाडौं आइपुग्दा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

चीनबाट ससम्मान स्वदेश फर्केको एक वर्षपछि २०१३ साल कार्तिक १० को संयुक्त प्रजातन्त्र पार्टी (युनाइटेड डेमोक्रेटिक पार्टी)को महाधिवेशनका लागि पार्टीका अध्यक्षको हैसियतले के.आई. सिंह पोखरा भ्रमणमा आइपुगेका थिए । पोखरामा भएको विशाल आमसभामा के.आई. सिंहले भाषण गरेका थिए । के.आई. सिंहका साथ लक्ष्मीप्रसाद देवकोटा, धर्मरत्न यमी तथा पूर्णबहादुर एमए पनि पोखरा आएका थिए । धर्मराज थापा यतैको हुँदा पोखरामा धर्मराज थापाको आतिथ्यतामा रहेका कारण उनको साथ बाटुलेचौरमा पनि पुगेका थिए । त्यहीँ बाटुलेचौरमा सानो कवि सम्मेलनको पनि आयोजना गरिएको थियो ।

सोही बसाइमा उनले पोखराबाट बाटुलेचौर जान सकस देखेर पुल बनाउन सहयोग गर्ने बचन दिएका थिए । पछि प्रधानमन्त्री बनेपछि केही आर्थिक सहयोगका साथ स्थानीयमा उत्साह थपेर सेतीमा पुल बनाइएको हुँदा सो पुलको नाम नै ‘केआई सिंह पुल’ राखिएको थियो । जुन अध्यावधि यही नामले प्रख्यात रहेको छ ।

यसरी उग्र स्वभावका के.आई. सिंहलाई २०१४ साउन ११ गते राजा महेन्द्रले प्रधानमन्त्रीमा मनोनित गराएका थिए । भारतीय दबाबमा रहेका राजा महेन्द्रले उग्र स्वभावका चीनियाँनिकटका यिनलाई प्रधानमन्त्री बनाएको अनुमान गर्न सकिन्छ । यिनको सरकारमा पशुपतिभक्त माथेमा तथा लक्ष्मीप्रसाद देवकोटा जस्ता ब्यक्ति मन्त्री बनेका थिए । जनताको लागि मन लगाएर सरकार चलाउँदै गरे तापनि राजाले कार्तिक २९ गते उनको सरकारलाई अपदस्त गराइ सरकारको जिम्मा आफ्नै हातमा लिए । केवल ११२ दिन सरकार चलाउन पाए पनि उनको चर्चा सबैभन्दा बढी हुन गएको देखिन्छ । शायद नेपालको इतिहासमा सबैभन्दा छोटो अवधीका प्रधानमन्त्री यिनै थिए । र, सिंहदरबार कब्जा गरेको हुँदा ‘एकदिने राजा’ पनि भन्ने गरिन्छ ।

पार्टीअध्यक्षका हैसियतले केआई सिंहले पोखरामा गरेको भाषण आजको राजनैतिक परिदृश्यमा महत्वपूर्ण हुन सक्छ :