पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता बनाउनुपर्ने

पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता बनाउनुपर्ने


पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ ।

नेपाल पत्रकार महासङ्घ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा यहाँ आज आयोजित ‘पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग र संहिता निर्माण’ विषयक अन्तरक्रियामा सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने हुँदा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिता बनाउनुपर्नेमा जोड दिइएको छ ।

सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासङ्घका सचिव तथा सामाजिक सञ्जाल सञ्चालन संहिता निर्माण कार्यदलका संयोजक प्रकाश थापाले बिशेषगरी महासङ्घका सदस्यलाई लक्षित गरेर सामाजिक सञ्जाल सञ्चालन संहिता बनाउन लागिएको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ डिजिटल मिडिया समितिका संयोजक एवं केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेपालको समग्र पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्या्दित बनाउन पनि संहिता आवश्यक रहेको बताए । सेन्टर फर मिडिया रिसर्च सेन्टरका कार्यकारी निर्देशक उज्ज्वल आचार्यले संहिता निर्माण गर्दा पत्रकारको व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले पत्रकारले सामाजिक सञ्जालमा आफ्ना गतिविधि राख्नुभन्दा अगाडि सोच्नुपर्ने बताए । महासंघका केन्द्रिय सदस्य जन्मदेव जैशीले पत्रकारका लागि सामाजिक सञ्जाल संहिता निर्माण गर्नेक्रममा विचारलाई सामाजिक सञ्जालमा राख्न पाउने अधिकारको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।