गुम्बा विकास समितिलाई विभाग बनाइने : अधिकारी

गुम्बा विकास समितिलाई विभाग बनाइने : अधिकारी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताएका छन् ।

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले आज राजधानी आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उदघाटन कार्यक्रममा मन्त्री अधिकारीले सो कुरा बताएका हुन् । उनले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनर्निर्माण भइरहेको पनि बताए । बौद्ध धर्मावलम्बीले साधना मात्र गरेर नहुनेमा उनले जोड दिए । उनले भने, ‘साधना मात्र होइन कामसँगै साधना गर्नुपर्छ ।’

समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टाँसी लामाले बौद्ध धर्मको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँलाए । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले गुम्बाको पुनर्निर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिए । समितिका सदस्यसचिव इन्द्रबहादुर गुरुङले बौद्ध धर्मलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे ।

समितिका सदस्य दीपेन्द्र लामाले पञ्चशील नियमको पालनामा जोड दिए । कार्यक्रममा समितिका पदाधिकारी, कर्मचारी, बौद्ध धर्म गुरु, धर्मावलम्बी, नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघका पदाधिकारीलगायतको उपस्थिति रेको थियो ।