अख्तियारको ‘स्टिङ अपरेशन’ मा ११ कर्मचारी

अख्तियारको ‘स्टिङ अपरेशन’ मा ११ कर्मचारी


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको साउनयता ‘स्टिङ अपरेशन’का क्रममा ११ जना कर्मचारी रङ्गेहात फेला पारेको जनाएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अख्तियारको हेटौँडा कार्यालयले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा ती कर्मचारीलाई रङ्गेहात फेला पारेको जनाएको हो । अख्तियारले चालू आवको पहिलो चौमासिक अवधिको विभिन्न मितिमा ‘स्टिङ अपरेशन’ चलाएको थियो ।

अख्तियार टोलीले धोबिनी गाउँपालिका पर्साका लेखापाल कृष्णानन्दन राय र नायब सुब्बा ऐनामूलक अन्सारीबाट रु एक लाख १० हजार, शहरी विकास तथा भवन डिभिजन कार्यालय भैरहवाका डिइ सुरेश ठाकुर पत्नी अनिता ठाकुरबाट रु १२ लाख ५० हजार नगद र रु २४ लाख २२ हजारको बैंक भौचरसहित रङ्गेहात फेला पारेको हो ।

मकवानपुर थाहा नगरपालिका पालुङबाट सव–इञ्जिनियर कलराज न्यौपाने रु दुई हजार, जुद्ध मावि गौरका शिक्षक प्रमोद ठाकुरबाट ४५ हजार, नापी कार्यालय गौरका धीरेन्द्रकुमार ठाकुरबाट रु १४ हजारसहित नियन्त्रणमा लिएको हो ।

विद्युत् प्राधिकरण भरतपुरका कार्यालय सहायक कृष्णबहादुर सुवेदीबाट रु २० हजार, वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृत मन्जुर आलम, नासु शशिभुषण साहबाट १ लाख, शिक्षा विकास तथा समन्वय एकाइ पर्साका उपसचिव लालबाबु साहबाट रु ४० हजार र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार सुधामा हजारबाट रु एक लाखसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारको हेटौँडा कार्यालयले चालू आवको कात्तिक मसान्तसम्म ५५५ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये २५५ उजुरी फछ्र्यौट भइसकेका छन् । विस्तृत अनुसन्धान भइरहेका ५६ मध्ये २३ मुद्दामात्र फछ्र्यौट भएका छन् । हेटौँडास्थित कार्यालयले बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, दोलखा र रामेछाप जिल्ला हेर्दै आएको छ ।

आयोगका कार्यालय प्रमुख हुमकला पाण्डेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरी बढी आउने गरेको बताउनुभयो । आयोगले दिएका सुझाव पालना नगर्दा, सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा भ्रष्टाचार नियन्त्रणमा समस्या देखिएको उहाँको भनाइ छ ।

अख्तियारद्वारा आयोजित क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले प्रदेश सरकारको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीति प्रस्तुत गर्नुभएको थियो । राससका अनुसार कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।