ठूला कुरा गरे नेताहरूले, अब साना कुरा गरौँ

ठूला कुरा गरे नेताहरूले, अब साना कुरा गरौँ


special-articleकुनै समयका शक्तिशाली शासक राजा वीरेन्द्रले घोषणा गरेका थिए, ‘नेपाललाई एसियाली मापदण्डमा पु-याउने ।’ घोषणाको केही कालपछि त्यसलाई परिवर्तन गरी ‘सन् २००० सम्ममा नेपालको आधारभूत आवश्यकता पूरा गर्ने’ बनाइयो । सन् २००० बितेको चौध वर्ष पूरा भइसकेको छ, उक्त घोषणाको कार्यान्वयन पक्षबारे समीक्षासम्म गरिएन र जिम्मेवारी पनि कसैले लिएन । राजा, राष्ट्रपति या प्रधानमन्त्री, सत्ताको शक्ति जसमा निहित भए पनि राज्यसत्ताको निरन्तरतालाई एउटै रूपमा बुझिन्छ, एउटा शासकले गरेकोे राम्रो कामको निरन्तरता अर्कोले दिनु सामान्य परम्परा र दायित्व पनि हो । तर, त्यसबेलाका सत्ताप्रमुखको घोषणाप्रति पछिका शासकहरू बेखबर रहे, कसैले कुनै चासो प्रकट गरेनन् र समीक्षा गर्न पनि आवश्यक ठानिएन ।
०४६ मा प्रजातन्त्र पुनस्र्थापना भएपछि नेपाललाई ‘सिङ्गापुर’ बनाउने भनियो । हरेक राजनीतिकर्मीहरूको जिब्रोमै झुन्डिएको यो वाक्य प्रस्तुतीकरणले अझै निरन्तरता पाइरहेको छ । तर, देशलाई सिङ्गापुरजस्तै कसरी बनाउन सकिन्छ भन्ने विषयमा सामान्य बहससमेत प्रारम्भ भएको या गरिएको छैन । सिङ्गापुर, मलेसिया र दक्षिणकोरियाजस्तै विकास–समृद्ध देश नेपाललाई बनाउने गफ दिने क्रम जारी छ । राजनीतिमा आफ्नाबारे सोच्नेहरूको बाढी आएको छ, हामी यिनैले देश बनाउँछन् भन्ने भ्रमबाट मुक्त हुन सकेका छैनौँ– मुक्त हुन खोजेका छैनौँ । नेपाली राजनीतिका अगुवाहरू दन्त्यकथाको हजार टाउको भएका राक्षस मार्न अग्रसर राजकुमारजस्ता तिलस्मी छन् । आकाश–पाताल जोड्ने कुरा गर्छन्, नेपाललाई स्वर्णीम युगमा प्रविष्ट गराउने भाषण दिन्छन्, उद्यम, व्यवसाय र उत्पादन बढाएर आर्थिक रूपमा सम्पन्न बनाउने र विश्वमै उत्कृष्ट प्रजातन्त्र स्थापित गरेर देशलाई संसारकै उदाहरणीय मुलुकको पहिचान दिनेसम्मका गफ दिन्छन्, प्रतिव्यक्ति आम्दानी बढाएर युरोप, अमेरिकाभन्दा माथि पु-याउने कुरा गर्छन् । पाँच–दश वर्षको समय–चिनो लगाउँदै दश हजार, पच्चीस हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गर्छन् अनि देशलाई स्वीट्जरल्यान्डजस्तै ‘स्वर्ग’ बनाउनेसम्मका कुरा गर्छन् । कुराको खेतीमा उत्तरकोरियालीजत्तिकै माहिर मानिएका नेपाली राजनीतिकर्मीहरू यति रित्ता प्रमाणित भइसकेका छन् कि यिनका अघिल्तिर पानी भरिनुअघिका गाग्रीले पनि खोक्रोपनमा लज्जित हुनु परिरहेछ । हामीले नेताहरूको यस्तो गफ सुन्न थालेको सात दशक पूरा हुनै लागेको छ, अब अरू कति दशक यस्तै ‘हवाई गफ’ सुनिरहने हो जनस्तरले छलफल चलाउन ढिला भइसकेको छ ।
युरोप र अमेरिकालाई एकैक्षण बिर्सौं, ६ दशकअघिसम्म नेपालको भन्दा दयनीय अवस्थाबाट गुज्रिरहेका एसियाली मुलुकहरू सिङ्गापुर, मलेसिया र दक्षिण कोरयाले कसरी आफूलाई उन्नतिको चरम शिखरमा पु-याएका हुन् त्यसबारे स्मरण गर्नु वाञ्छनीय हुनेछ ।
कोरियाका पार्क चुङ हीले सन् १९६२ मा सत्ता हातमा लिँदा त्यहाँको प्रतिव्यक्ति आम्दानी दुई सय डलरभन्दा कम थियो । सत्र वर्षमा उनले आम्दानी करिब सत्र सय अमेरिकी डलर पु-याए । उनको मुख्य जोड निर्यातमुखी उत्पादनमा थियो । उत्पादन र निर्यातका लागि पार्कले देशभित्र लगानीको वातावरण बनाउन सम्पूर्ण प्रयास गरे । कानुनमा सुधार गरी स्वदेशी र विदेशी पुँजी लगानीको सुरक्षा सुनिश्चित गरिदिए । टे«ड युनियनहरूको दादागिरी अन्त्य गरी युनियनहरूलाई व्यवस्थित गरे र रुग्ण उद्योगहरूलाई सरकारले नै नगद उपलब्ध गराई मुनाफा आर्जन गर्न सक्ने अवस्थामा पु-याइदिए । देशलाई समुन्नत तुल्याइसकेपछि ‘प्रजातन्त्र’ पनि उनैले व्यवस्थित गरिदिए– आज दक्षिण कोरिया विश्वकै एक समुन्नत मुलुकको कोटिमा पुगेको छ । पार्कले आफ्नो शासनकालमा नेपालका राजनीतिकर्मीहरूले जस्तो ‘कुरामा देशलाई स्वर्ग बनाउने, व्यवहारमा नरकभन्दा पनि तल्लो दर्जामा पु-याउने न कुरा गरे न काम । पार्क चुङ हीले जस्तै महाथीर मोहम्मद र ली क्वान युले पनि अर्थतन्त्रकेन्द्रित नीति अवलम्बन गरेका हुन् । हामै्र राजनीतिकर्मीहरूले जस्तै आकाश–पाताल जोड्ने गफ दिएर समय गुजारेका भए न तिनका देश बन्ने थिए न सम्मानपूर्वक कसैले तिनका नाम लिने थिए । मित्रराष्ट्र भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएर आएपछि उनले ठूला कुरा गरेका छैनन् । घर, आँगन, सडक सफा राख्ने ‘सामँन्य’ अभियान चलाएका छन् । अपराध बढेकोप्रति चिन्ता प्रकट गर्दै हरेक बाबुआमाले ‘छोरालाई पनि के गर्दैछौ र कहाँ गएर आयौ भनी प्रश्न गर्न’ सुझाव दिएका छन् । रोजगारी बढाउने कार्यक्रम ल्याएका छन्, गरिब नागरिकलाई पनि बैंकमा खाता खोल्न प्रोत्साहन गरेका छन्, देवी–देवताको मन्दिर गएर पूजा, ध्यान गरेका छन्, कर्मचारीलाई निर्धारित समयमै कार्यालयमा जान र जनताको काममा विलम्ब हुन नदिन ‘बाध्य’ पारेका छन् । कर्मचारीहरूलाई विमानको यात्रा गर्दा ‘इकेनोमी’ टिकट लिन र नयाँ कार नकिन्न निर्देशन जारी गरेका छन् । भ्रष्टाचार नियन्त्रणका निम्ति जोडदार क्रियाशीलता देखाएका छन् र विदेशमा जम्मा भएको कालोधन स्वदेशमा फिर्ता ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् । मोदीका बोली र व्यवहारमा कुनै भिन्नता पाइन्न, उनकै बोली र व्यवहारका कारण सिङ्गै भारतको शान विश्वमा गौरवमय ढङ्गले स्थापित हुने परिस्थिति बनेको छ, जब कि मोदीले चुनाव जितेको ६ महिना मात्र बितेको छ । हाम्रो राजनीतिक वृत्तले ६ दशकमा नगरेको काम भारतमा मोदीले ६ महिनामै गरेर देखाइदिएका छन्– ठूला कुरा उनले कहिल्यै गरेनन् साना काम प्रारम्भ गरेर ठूलो परिणाम हासिल गर्ने अभीष्ट लिएका छन् ।
नेपाली राजनीतिकर्मीहरू आत्मकेन्द्रित, अज्ञानी, अदूरदर्शी, अक्षम र बेइमान छन् भन्ने आरोप लगाइरहनुपर्दैन, उनीहरू आफैँले उक्त तथ्यको पुष्टि गरिरहेका छन् । विदेशमा लाखौँ नेपाली युवाले रक्ततुल्य पसिना बगाएर आर्जन गरेको धनलाई अनेक शीर्षकका सेवा–सुविधामा रूपान्तरण गरेर भोजन गर्ने बानी परेका यिनले जसको पसिनामा आश्रित भएर देश चलाउनुपरेको छ तिनैलाई समेत सम्मान दिन जानेको छैन । कुनै समय वैदेशिक रोजगारीको अध्याय समाप्त भयो भने राज्य सञ्चालन कुन स्रोतको आधारमा गर्ने हो त्यसको सामान्य हेक्का पनि राखेका छैनन् । प्राकृतिक विपत्तिका कारण सङ्कट झेलिरहेका जनताको समस्या समाधानप्रति राजनीतिकर्मीहरूको उदासीनता, दिनहुँ सडक दुर्घटनामा सयौँ नागरिकले ज्यान गुमाउनुपरेका घटनाप्रतिको असंवेदनशीलता, ट्राफिक नियम उल्लङ्घनका कारण जनताले सधैँ व्यहोर्नुपरेका समस्या, कर्मचारी प्रशासन सेवामुखी नभई आत्मकेन्द्रित र भ्रष्ट भइरहेको अवस्था, युनियनहरूको दादागिरीका कारण उत्पन्न अराजकता, विकास बजेटमा हुने गरेको चरम भ्रष्टाचार, उद्यमी–व्यवसायी निरुत्साहित र गैरव्यावसायिक व्यक्तिहरू प्रोत्साहित हुने अवस्था, गुणस्तरहीन खाद्यान्नको उत्पादन र वितरण भइरहँदा जनस्वास्थ्यमा उत्पन्न समस्या, इन्धनको ढुवानी र बिक्री–वितरणमा हुने गरेको चोरी तथा भ्रष्टाचार, चालकहरूको लापरबाहीका कारण सडक दुर्घटनामा भएको वृद्धि, सिन्डिकेट प्रणालीका कारण जनताले सुविधाजनक यात्रा गर्न नपाएको र व्यवसायीले सुविधासम्पन्न यातायातका साधनहरूमा लगानी गर्ने मौका नपाएको अवस्था, नेपालीले स्वच्छ हावामा सास लिन र स्वच्छ पानी पिउन नपाएको स्थिति, अस्पतालहरूमा उपचारको सहुलियतपूर्ण व्यवस्था नभएको र अस्वस्थ प्रतिस्पर्धाले स्वास्थ्य क्षेत्रसमेत विकृत बन्दै गएको वास्तविकता र हरक्षेत्रमा भइरहेको राजनीतीकरणका कारण विकासमा अवरोध, काममा बाधा तथा योग्य र सक्षम व्यक्तिहरू स्वदेशबाट पलायन हुनेजस्ता समस्याहरू राजनीतिक दलहरूको प्राथमिकतामा कहिल्यै परेनन् । ०६३ यता मात्र एक हजारभन्दा बढी बैठक भए होलान्, कुनै पनि बैठकमा जनताको वास्तविक समस्या छलफलका एजेन्डा बन्न सकेनन् । कतिजना माओवादी लडाकुलाई सेनामा जागिर खुवाउने भन्ने विषयमा बहस गरेर पाँच वर्ष बिताएका राजनीतिकर्मीले सत्तामा भागबन्डा, जागिरमा भागबन्डा र देशकै भागबन्डाका विषयमा बहस गरेर अर्को पाँच वर्ष बिताउँदै छन् ।
यसैगरी नेपाली जनताको मौनता कायम रहने हो भने राजनीतिमा कायम माफियागिरी अरू मजबुत हुँदै जानेछ, जनस्तरको समस्या जहाँको त्यहीँ या अझै विकराल बनिरहँदा उच्चपदस्थ कर्मचारी र राजनीतिकर्मीहरूको जीवनस्तरमा आएको ‘महान्’ परिवर्तनलाई आफ्नै जीवनमा भएको सुधार मानेर बस्नुपर्ने अवस्था जनताले व्यहोरिरहेका छन् ।
हाम्रो साक्षर र शिक्षित नागरिकहरूको प्रतिशत आँकडामा निकै माथि पुगेको छ । तथापि पश्चिमा मुलुकका मानिस एसियालीहरूलाई सभ्य मान्दैनन् । हामी नेपाली आफैँले पनि आफूहरू सभ्य भएको प्रमाण पेस गर्न सकिरहेका छैनौँ । शिक्षित हुँदैमा मानिस सभ्य हुँदोरहेनछ भन्ने तथ्यको उदाहरणीय तस्बिर हामीले प्रस्तुत गरिरहेका छौँ । त्यसैले पश्चिमाहरूले हामीलाई सभ्य र परिष्कृत मानिस ठानेका छैनन् भने त्यसलाई पूरै गलत भन्नु नै गलत हुनेछ । घरमा, सडकमा, बाटोमा, रेस्टुरेन्टमा, क्लबमा, बसमा, विमानस्थलमा र जहाँ–जहाँ हामी छौँ त्यहाँ हामीले प्रस्तुत गरेको बोली–व्यवहारलाई देखेपछि देख्नेहरू कसैले पनि हामीलाई सभ्य मान्न मिल्दैन । संविधान नबनेको, सुशील कोइराला र त्यस्तै अनेक नामका अक्षम र नालायक व्यक्तिहरू प्रधानमन्त्री बनेको या हामी नेपाली गरिब भएकाले हाम्रो व्यवहार तथा चरित्र असभ्य मानिससँग हुबहु मिल्न पुगेको होइन । पश्चिमाहरू हामीलाई किन सभ्य मान्दैनन्– यो हामीमध्ये धेरैको जानकारीमा छ, तर हामी किन सभ्य बन्न सकिरहेका छैनौँ, योचाहिँ मेरा लागि सधैँ चिन्ता र चिन्तनको विषय बनिरह्यो । पन्ध्र अक्षर र पाँच शब्दको एउटा वाक्यलाई हामीले बुझ्न र सोअनुरूपको व्यवहार गर्न नसकेका कारणले मात्र हामी असभ्य बनेका रहेछौँ भन्ने तथ्यबोध हुन मलाई धेरै समय लाग्यो । ‘मेरा कारणले अरूलाई दुःख नहोस्’ भन्ने वाक्यलाई हामी सबैले आत्मसात् ग-यौँ र सोहीबमोजिमको व्यवहार प्रस्तुत गर्न सक्यौँ भने हामी तत्कालै सभ्य बन्न सक्दारहेछौँ । पश्चिमाहरू एक दिनमा सयौँ, हजारौँपटक ‘सरी’ र ‘एस्क्युज मी’ किन भन्ने गर्दा रहेछन् भन्ने तत्वबोध पनि यही सानो ज्ञानबाट मिलेको छ । मेरो कारणले अरू कसैलाई कुनै पनि प्रकारको कठिनाइ या असुविधा नपुगोस् भन्ने सोच हामी सबै नेपालीले बनाउने हो भने नेपालीहरू धेरै सभ्य छन् भन्ने परिचय स्थापित हुन समय लाग्नेछैन । यही ज्ञानबोधले राजीतिकर्मीलाई देशकेन्द्रित र समाजसेवी भूमिकामा स्थापित गर्न सक्छ भने कर्मचारीतन्त्रमा सुधार हुने विश्वास पनि गर्न सकिन्छ । नेताहरूले ठूला कुरा गरेर देशको, जनताको र आफ्नो पनि समय बर्बाद गरिरहेका छन् । अब साना कुरा गरून् र ठूला परिणाम हासिल गर्ने यात्रामा जुटून्– शुभकामना ।