फन टाइम

फन टाइम


funtimeगहिरिँदै आलोकको मृत्यु–रहश्य
मानिस जे कुरा प्राप्त गर्नका लागि सङ्घर्ष गर्छ अनि उद्देश्यमा सफल हुन्छ । अन्ततः त्यो कुरा पाएपछि वा त्यो ठाउँमा पुगेपछि किन ऊ त्यो सफलता र समृद्धिको उपभोग गर्ने समयमा भने पछि हट्छ या संसार त्याग्छ ?
यस्ता थुपै्र उदाहरणबीच कुशल म्युजिक भिडियो निर्देशक तथा चलचित्र निर्देशक आलोक नेम्वाङ पनि एउटा उदाहरण बन्न पुगे । विशेष गरेर म्युजिक भिडियो निर्देशक नम्बर वन कहलिएका आलोकसँग आफ्नो गीतको भिडियो बनाउन तथा उनको गीतमा खेल्न गायक–गायिका तथा मोडलहरू लालायित हुन्थे । यसकारणले पनि उनले सयौँ सङ्ख्यामा राम्रा मोडलहरू पनि जन्माए । म्युजिक भिडियो निर्देशन क्षेत्रमा कहलिन निरन्तर बीसौँ वर्षदेखि सङ्घर्ष गर्दै आएका आलोकको आज नाम र उपस्थिति नै काफी भइसकेको थियो, तर तिनै उच्चतम व्यक्ति एवम् प्रतिभाले आफ्नो निधनको बाटो यस्तो रोज्लान् भन्ने कुरा कसैले पनि कल्पना नै गर्न सकेका थिएनन् । सधैँ स्पष्ट बोल्ने र विचार पोख्ने आलोक निधनको मामिलमा भने स्पष्ट हुन सकेनन् ।
चलचित्र त उनले जम्मा तीनवटा मात्र निर्देशन गरे– सानो संसार, कोही मेरो र अझै पनि । दुई चलचित्र बजारमा आइसकेका छन् भने ‘अझै पनि’ आउन बाँकी छ । विशेष गरेर नेपाल म्युजिक भिडियोको क्षेत्रमा आलोक नेम्वाङ अग्रणी थिए । एमेज च्यानलको स्थापनासँगै नेपालमा फस्टाएको म्युजिक डिभियो क्षेत्रको विस्तारका लागि आलोकलाई नै श्रेय जान्छ । म्युजिक भिडियोमा अभिनय गरेर र म्युजिक भिडियोको निर्माण, निर्देशन पनि आयस्रोतको गतिलो विधा बन्न सक्छ भनेर उदाहरण दिन सफल नेम्वाङले आत्महत्याजस्तो अपत्यारिलो निधन रोजे भन्ने कुरा सहजै अनुमान लगाउन गाह्रो छ, तर कहिलेकाहीँ नचाहँदा–नचाहँदै पनि यस्तो कुरा विश्वास गर्नुपर्दो रहेछ ।
आलोकको यो निधनको पछाडिका कारणहरू धेरैले धेरै तरिकाले खोतल्न खोजे तापनि उनले किन मृत्युलाई रोजे ? कुनै विश्वास गर्न र पत्याउन सकिने ठोस कारण भने बजारमा आउन सकेको छैन । सबैजना भन्छन्– फ्रस्टेट, एक्लोपन अनि तनाव या मानसिक असन्तुलन ? तर यी सबै अनुमानका खेतीहरू मात्र हुन् ।
आलोकले सबै दर्शकहरूले बुझ्नेगरी जसरी म्युजिक भिडियो बनाउँथे अन्ततः आफ्नो देहत्याग भने कसैले पनि बुझ्न नसक्ने गरी अस्पष्ट र कन्फ्युजमा नै गरे । आज उनकै सिको र पथ पछ्याएर म्युजिक भिडियो निर्देशन गर्नेहरूको जमात ठूलो भइसकेको छ । यसको सबै श्रेय र वाहवाही त निर्देशक स्वर्गीय आलोक नेम्वाङलाई नै जान्छ । उनको अकल्पनीय निधन अस्पष्ट भए तापनि नेपाली म्युजिक भिडियो निर्माणमा आलोक एउटा धरोहर र सम्मानित सर्जक थिए भने कुरामा भने कोही पनि अस्पष्ट भएका छैनन् ।

महिलाको तिज अब वृत्तचित्रमा
हुन त रोशनी केसी कलाकारको रूपमा नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । तर, उनलाई यो क्षेत्रको रुचि र लगावले भने यतिबेला निर्मात्री र निर्देशकसम्म पु-याउन थालेको छ ।
नेपाली कलाकारिता क्षेत्रको हरेक विधामा जम्मे उद्देश्यले लाग्दै अगाडि बढेकी रोशनीलाई पहिले दर्शकहरूले चर्चित टेलिसिरियल ‘कसलाई आफ्नो भनूँ’ ? तिमी पुरुष, हस्पिटललगायतले दर्शकहरूमाझ चिनाएको हो । त्यसपछि अनि ठूला पर्दाको चलचित्र को–कसकोमा देखापरिन् । यो चलचित्र नेपालकै पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठले बनाएकी हुन् ।
कलाकारिता क्षेत्रलाई समाउँदै अगाडि बढेकी रोशनी यतिबेला भने निर्मात्री र निर्देशकको रूपमा अगाडि बढ्ने योजनामा छिन् । सडक बालबालिकाहरूको जीवनीमाथि आधारित वृत्तचित्त डा. खातेले रामै्र प्रशंसा पाएपछि उत्साहित रोशनी अब आफ्नो निर्देशनमा तिजसम्बन्धी वृत्तचित्र निर्माणको अन्तिम तयारीमा लागेकी छिन् । ‘नेपाली महिलाहरूको महान् चाड तिजसम्बन्धी यो वृत्तचित्रमा तिजभित्रका विविध परिवेशहरू समेटिनेछन् । यसलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउने उद्देश्य छ,’ रोशनीले भनिन् ।

हमालका विरोधीहरू भागाभाग
महानायक राजेश हमाल यतिबेला फुर्सदमा छन् । तर, उनको यो फुर्सदलाई लिएर बजारमा विभिन्न अडकलबाजीहरू काटिन थाले । कोही हमालले अब परिवारलाई समय दिन थालेका छन् भन्छन् त कोही फिल्म नपाएपछि फुर्सदमा नबसे केमा बस्छन् त भन्न थालेका छन् । तर, हमाल फुर्सदमा बसेको रहस्य त अहिले पो खुल्न थालेको छ ।
बाहिर फुर्सदमा देखिए तापनि हमाल त भित्रभित्रै बेफुर्सदी पो रहेछन् । गाँठी कुरा के हो त ? अहिले यो बिस्तारै खुल्न थालेको छ । चलचित्र क्षेत्रमा नयाँ पुस्ताहरूको हावी हुन थाल्नु र आफू सुहाउँदो भूमिकाहरूबाट कम प्रस्ताव आएपछि राजेश हमालले अब अभिनयतिर नभएर निर्माण/निर्देशनतिर पो रुचि बढाउन थालेका रहेछन् । आफ्नै निर्देशनमा एउटा बिग बजेटको चलचित्र तयार हुने भएपछि उनी होमवर्कका लागेका रहेछन् । कुरै नबुझीकन हमालदाइको बारेमा नानाभाँतीका अड्कल काट्नेहरू उहाँको यो नयाँ कार्यको बारेमा थाहा पाएपछि लाजले भुतुक्कै हुन थालेका छन् । त्यसै हात खाली बस्ने त हमालको पहिलेदेखि नै बानी होइन । अब चाँडै एक विशेष कार्यक्रमबीच राजेश हमालले निर्देशन गर्ने चलचित्रको भव्य घोषणा हुने भएको छ भने यो कुरा सुन्दा उनको बारेमा गलत हल्ला फैलाउनेहरू कुन कुनामा लुक्नेहुन् ?