तेस्रो नजर

तेस्रो नजर


pathakmanchअख्तियारलाई साधुवाद
पक्राउ परेका सुन तस्करलाई छुटाइदिने भन्दै करोड घुस लिने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सुब्बा र भन्सार एजेन्टहरू घुसको रकम लुकाउने चेष्टा गर्दागर्दै अख्तियारको चनाखोपनका कारण पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यसका लागि साधुवाद भन्नैपर्छ । कानुन बनाउने जिम्मेवारी लिएका केही सांसदहरू नै मुलुकमा जथाभावी गर्न पाउनुपर्छ, अनियमिततालाई पनि प्रश्रय दिनैपर्छ, घुस लेनदेन गर्न पाउनैपर्छ भन्ने अर्थ लाग्ने शैली प्रदर्शन गर्दै अख्तियारको हातखुट्टा बाँध्ने प्रयत्नमा लागेकै बेला अख्तियार भने आफ्नो कर्तव्य वा जिम्मेवारी निर्वाहमा एकलव्य भावले लागेको छ । यो अत्यन्त प्रशंसनीय छ । राज्यका सारा संयन्त्र अस्तव्यस्त ढङ्गले चलिरहेको अवस्थामा एउटा अख्तियारले मात्र यतिबेला आमनेपालीको हृदयमा आशा जगाउने काम गरेको छ । भ्रष्टाचार र घुसखोरीजस्तो मुुलुकको शत्रुलाई ध्वस्त नपारेसम्म यो मुलुक बन्दैन ।
त्यसैले, घुस्याहा कर्मचारी र एजेन्टहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् । जनताको रगत–पसिनामा खेलबाड गरी कालो धनमा मस्ती गर्न चाहनेहरूलाई ठेगानमा ल्याउन कडा कारबाहीको आवश्यकता छ । यसरी अवैध काम गर्न घुस्याहाहरूलाई तिनका जहान–परिवारले पनि सघाएको पुष्टि भएको छ । वास्तवमा पत्नी या पति तथा परिवारका सदस्यहरूको उक्साहट र दबाबले पनि कर्मचारीलाई भ्रष्ट बन्न प्रेरित गरिरहेको हुन्छ । यस्तो अवस्थामा त्यस्ता परिजनलाई पनि अपराधी नै मानेर कारबाही गरिदिँदा पाप लाग्दैन । यसो भएमा कर्मचारीले नराम्रो काम गर्ने परिपाटीमा कमी आउन सक्छ ।
तसर्थ, हालै पक्राउ परेका कर्मचारी र एजेन्टलाई मात्र होइन, यसअघिका दिनमा पक्राउ परेका घुस्याहाहरूलाई पनि उन्मुक्ति दिने, सजायको नाममा नाम मात्रको कारबाही गर्ने प्रवृत्ति नदेखाइयोस् । यसो गरेमा नेपाली जनताको आँसुले पोल्नेछ । राज्यका सरोकारवालालाई हेक्का रहोस् । अन्त्यमा अख्तियारलाई एकपटक पुनः धन्यवाद भन्दै यस्तो कर्म अझै तीव्रताका साथ जारी रहोस् भन्ने शुभकामना दिन चाहन्छौँ ।
– चिन्तामणि सुवेदी र चेतनाथ भण्डारी
हाल : कपन, काठमाडौं

कसैसँग जवाफ छ कि ?
सहमति जुटाएर तत्काल संविधानको मस्यौदा बनाउन राजनीतिक दल तथा दलका नेताहरूलाई आमजनताले आग्रह गरेकोगरेकै छन् । यसपटक पनि समयमै संविधान नदिए दलका नेताहरूको उछित्तो काढिने सङ्केत पनि जनस्तरबाट मिलिरहेको अवस्था छ । दिगो संविधानको अभावमा देश अराजकताको भासमा दिनानुदिन भासिइरहेको छ । तर, आफूलाई देशकै अभिभावक भनाउन चाहने पुष्पकमल दाहाललाई यस्ता कुराले पटक्कै नछोएको देख्दा ताजुब लाग्छ । उनी अझै पनि जातीय र क्षेत्रीय मुद्दा चर्काएर आफूलाई राजनीतिको केन्द्रभागमा रहेको ढोँग प्रदर्शन गर्न उद्यत् देखिन्छन् । मधेसमा पुग्दा ‘मधेसी, तिमीहरू छुट्टै राज्यका हकदार छौ, लुटेर पनि त्यो हासिल गर’ भन्दै मधेसी समुदायलाई उराल्न खोज्छन्, पहाडमा पुग्दा त्यस्तै वचकाना व्यवहार दर्शाउँछन् । जातजातिबीच विभेदको विजारोपण गरिदिन्छन्, तिनलाई भ्रमित तुल्याउँदै राज्यविरुद्ध उक्साउँछन्, ठाउँ र गाउँपिच्छे कुरा फेर्छन् अनि आफू एक मात्र यो देशको असली शुभचिन्तक भएको अलाप गाउँछन् । यी नौटङ्की नेता संविधान निर्माण प्रक्रियामा अपनाएको शङ्कास्पद व्यवहारकै कारण जनताबाट तिरस्कृत हुँदै गएका छन् र पनि आफूलाई सुधार्ने कोसिस गरिरहेका छैनन् । संविधान बन्न नदिनकै लागि यतिबेला उनी बैठक छल्दै रोल्पा हानिएका छन् । यस्ता व्यक्तिलाई जन्माएर नेपाली धर्ती कति पछुतो मानिरहेकी होलिन् ? यसको जवाफ दिएर चित्त बुझाइदिने कसले होला ?
– विद्रोही नेपाली, नेपालटार