जनकपुरका काङ्ग्रेस नेता विमलेन्द्र निधिले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण रोक्न सरकारलाई ‘प्रोवोक’ गरेको भए पनि आदित्यनाथ रोकिएनन् । भगवान् रामको जन्ती बनेर रामजानकी मन्दिर आउन लागेका मुख्यमन्त्री योगीलाई रोक्न निधिले सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए । देशमा सनातनी हिन्दू धर्मावलम्बीहरूमा उत्साह पैदा हुने र हिन्दूराष्ट्रको पक्षमा उठिरहेको आवाज अझै बुलन्द हुने त्रासका कारण निधिबाट योगीको भ्रमणमा अवरोध सिर्जना गर्ने प्रयास भएको थियो ।
मुख्यमन्त्री योगीको बुधबार (मङ्सिर २६गते) आगमन हुने भएपछि मंगलबार जनकपुरमा व्यापक रिहर्सल गरिएको थियो । दुलहीझैँ सिँगारिएकी जनकपुरमा मंगलबार लखनउबाट विमान आएको थियो र सुरक्षाकर्मीहरूले मुख्यमन्त्री आगमनको रिहर्सल गरेका थिए । इतिहासमै पहिलोपटक लखनउबाट एक घन्टा समय लगाएर आएको विमानबाट मुख्यमन्त्री ओर्लिएको, उनको स्वागत भएको, विमानस्थलबाट सोझै रामजानकी मन्दिर पुगेको रिहर्सल मंगलबार गरिएको थियो । कुल बाह्र सय सन्त–महन्तहरूलाई विवाह उत्सवमा सहभागी हुनका लागि निमन्त्रणा गरिएकोमा मंगलबार (मङ्सिर २५ गते) सम्ममा सात सयभन्दा बढी सन्त–महन्थ जनकपुर आइसकेका थिए ।
मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी मन्दिरमा दर्शनका लागि जाने र त्यहाँबाट रामजानकीको स्वयम्बरस्थल बाह्रबिघामा जाने कार्यक्रम आयोजकहरूले मंगलबार नै सार्वजनिक गरिसकेका थिए । त्यस्तै, स्वयम्बर समारोहपछि बाह्रबिघामा आयोजित सभामा मुख्यमन्त्री योगी र दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा रामजानकी मन्दिरका महन्थले सम्बोधन गर्ने कार्यक्रम पनि मंगलबार नै सार्वजनिक गरिएको थियो । आफ्नै गृह जिल्ला भए पनि विमलेन्द्र निधि समारोहमा सहभागी हुन जाने–नजाने मंगलबार बेलुकासम्म स्पष्ट हुन सकेको थिएन । निधिको आगमन जनकपुरवासीका निम्ति ‘दाँतको ढुङ्गा’ हुने स्थिति भएकोले निधि जाने–नजाने टुङ्गो नभएको जानकारहरूले बताएका छन् ।
प्रतिक्रिया