प्रदेश ३ को राजधानी तत्काल नतोकिने

प्रदेश ३ को राजधानी तत्काल नतोकिने


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी तत्काल नतोकिने बताएका छन् ।

बुधबार राजधानीमा भएको एक साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्षअघि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामकरण गरिने बताए ।

मुख्यमन्त्री पौडेलले भने, ‘करिब दश महिनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौँ, १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन् । डिभिजन कार्यालय सबै बनिसकेका छन् ।’ ‘हामीलाई कानुनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानुन थिएनन् । कानुन नबनाईकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानुन बनाउन प्राथमिकता दिएका थियौँ,’ उनले बताए ।

मुख्यमन्त्री पौडेलले आफूहरूको अब केन्द्रीय सरकारसँग मुख्य माग भनेको नै केन्द्रीय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाउन आग्रह गरे । उनले भने, ‘हामीले २५–२६ वटा कानुन बनाइसक्यौँ । त्यो प्रमाणित पनि भइसकेको छ । त्यसैले अब काम गर्नको लागि धेरै समस्या हामीलाई छैन ।’

साझा अधिकारका केही कानुन पहिला केन्द्रले बनाउनुपर्नेमा जोड दिँदै पौडेलले अहिले प्रदेश प्रहरी ऐन, भूमिसम्बन्धी ऐनलगायत केही कानुन केन्द्रले बनाउनुपर्ने बताए ।

उनले हालै काठमाडौंमा सम्पन्न अन्तरप्रदेश परिषद बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले साझा समस्या प्रधानमन्त्रीसँग राखेको जानकारी गराए ।