सार्कका नाममा क्रियाशील ‘शार्क’हरू

सार्कका नाममा क्रियाशील ‘शार्क’हरू


bichar– राजेश खनाल
काठमाडौंवासीलाई राज्यले अहिले दुई किसिमको व्यवहार गरिरहेको स्पष्ट देखिएको छ । राजधानीको एकातिर सडकलाई चिल्लो बनाउने, नभत्किएको र राम्रो सडकलाई पनि अलिअलि भत्काएर त्यसमाथि पिच गर्ने गरेको छ भने अर्कोतिर डा. बाबुराम भट्टराईको सरकारले भत्काएको सडकलाई जस्ताको त्यस्तै छाडिदिएर धुलोमाटोको राजधानीका रूपमा परिणत गरिदिएको छ । नयाँ बानेश्वरबाट पूर्व–पश्चिमको बाटो र पुरानो बानेश्वरबाट पूर्व–पश्चिमको बाटोलाई हेर्ने हो भने एउटा आफ्नै सन्तान र अर्को सौताका सन्तान भन्ने खुलस्त हुन्छ ।
खै, क्यान्सरलाई जितेर आएका प्रधानमन्त्री सुशील कोइराला त्यताबाट हिँडेका छैनन् कि ? यदि त्यो बाटोबाट एकपटक मर्सिडिज गाडीमै गुड्ने होे भने पनि यी वयोवृद्ध प्रधानमन्त्री फेरि बिरामी पर्नेे निश्चित छ । त्यो देशको वास्तविक स्वरूप देखाउने बाटोमा हिँड्ने लाखौँ मानिसको शरीरको पार्टपुर्जा कत्तिको बिग्रिएको होला ? कोइरालाले सोच्न सक्दैनन् । त्यो बाटोमा गुड्ने गाडीहरूको कन्तबिजोक त्यही बाटोमा घर भएका वा हिँड्नेहरूलाई थाहा छ कि गाडीसाहुहरूलाई थाहा छ । यस्ता कुरा ठूला–ठूला कुरा गर्ने प्रधानमन्त्री, ओली, प्रचण्ड वा बाबुरामलाई के थाहा होला र ? बाटोघाटो बनाएर देशलाई समृद्धशाली बनाउने सपना देखाउने कोइरालाको सरकार कस्तो पङ्गु छ भन्ने त्यही बाटोले देखाउँछ जुन बाटोबाट कोइराला सायद एकपटक पनि हिँडेका छैनन् । एकपटक कोइराला गुडेर त हेरून् अनि थाहा पाउँछन् तिनले कि राजधानी कस्तो छ भनेर ।
मङ्सिरको दोस्रो सातामा हुने सार्क सम्मेलनको तयारीले राजधानीको केही भागलाई बेहुलीझैँ सिँगारेको छ । राजधानीको केही भागमा मात्रै देखिएको शृङ्गारका विषयमा काठमाडौंमा बस्नेलाई प्रश्न गरे तिनले जवाफ दिन्छन्, ‘यस्ता सम्मेलनहरू त हरेक महिना–महिनामा भइरहनुपर्छ । त्यो पनि कहिले बुढानीलकण्ठ त कहिले गोकर्ण, कहिले चापागाउँ त कहिले अर्को कुनै कुनामा । त्यसो भए मात्रै बल्ल कुरूप राजधानी राजधानीजस्तो देखिने थियो ।’ डिल्लीबजारतिर बस्ने एक मित्र भन्दै थिए, ‘कोही राजनेतालाई मैतीदेवी मन्दिर दर्शन गर्न मनलागे हुन्थ्यो । कम्तीमा त्यो बाटो त राम्रो बन्थ्यो ।’
राजधानीका कतिपय ठाउँहरूको दुर्गति अहिले पनि जस्ताको त्यस्तै छ । सार्क सम्मेलनको तयारीको नाममा मानिसहरूले कमाउने मेसोमात्रै बनाएको देखिन्छ । नभए बनाउनुपर्ने सडक नबनाएर केही नभएको टुँडिखेल वरपरको सडकको राम्रै पिचमाथि थप पिच थप्नुपर्ने त जरुरी थिएन ।
सार्कका नाममा तयारी कस्तो भइरहेको छ भन्ने बुझ्न केही गर्नुपर्दैन, बन्दै गरेको सडकमा चक्कर लगाउने हो भने सबै देखिन्छ । केही दिन अगाडिको बबरमहलअगाडि न्याय सेवा तालिम जाने बाटोको पूर्व बनिसकेको पिचलाई केक काटेसरी बीचबाटै चारकुने काटिएको थियो । यदि त्यहाँ अरू काम गर्नु थियो भने पिच बनाउनुपूर्व नै गरेको भए पिचलाई केक बनाउनुपर्थेन र त्यसमा दोहोरो निर्माण खर्च गर्नुपर्ने थिएन । तर, नानीदेखि लागेको बानीमा कहाँ सुधार आउँछ र ?
सार्क सम्मेलनलाई अगाडि लगाएर नेताहरूको फेर समाउँदै दुहुनो गाई दुहने काम गरिरहेका छन् सम्बन्धित कार्यालयका कर्मचारी । तिनलाई सरोकार त केवल सार्क सम्मेलनका दिनसम्मका लागि सहरका केही भागहरूलाई झकिझकाउ गरिदिनु मात्रै रहेको देखिन्छ । यसरी हतारहतारमा चिटिक्क परेको खोल लगाउँदै सार्कका नाममा कमाउरत छन् सबै ।
सार्क तयारीका क्रममा भएको खर्चमा अलिअलि छुट त भइनै हाल्छ होला भन्ने ठानेर नै महानगरपालिका, गृह मन्त्रालयका विभिन्न निकायहरू, भौतिक योजना मन्त्रालयका विभिन्न निकायहरू, सडक विभाग, विद्युत् विभागलगायतका कार्यालयहरूले अर्थ मन्त्रालयमा करोडौँको बजेट माग गरेको समाचारहरू सार्वजनिक हुँदै आएको छ । अर्थले त्यस किसिमको मागमा निकासा दिइरहेको पनि छ । तर, यस्ता निकासाहरूको सही सदुपयोग भएको पाइएको छैन ।
नेपालमा सार्क सम्मेलन हुने भनिएको पनि दुई वर्षअगाडि नै हो । तर, यत्तिका लामो समयमा पनि कुनै काम नगरिनु र जब बूढी ताती भन्ने उखानलाई चरितार्थ गर्दै अन्तिम समयमा आएर काम गर्नुले नेपाली कर्मचारीको नियत स्पष्ट देखिएको छ । यो नेपाल सरकारका लागि लज्जास्पद विषय हो । वास्तवमा सार्क सम्मेलनका नाउँमा कमाउने धन्धा सुरु भएको देखिएको छ । यदि कमाउने धन्धा हुँदैनथ्यो भने बनाउनुपर्ने ठाउँहरूलाई अघिल्लै वर्ष मर्मत गरेर बनाइन्थ्यो । हतारको कामले सबैतिर हतार हुने भएको र महालेखाले पनि हतारमै लेखापरीक्षण गर्ने भएकाले नै यो नियम अपनाएको देखिन्छ । नियत नै सबैको खराब भएपछि नेपाललाई विकसित राष्ट्र बनाउन खोजिए पनि त्यसले नेपालीको हित नहुने र त्यसले नेता, पहुँचवाला कार्यकर्ता र कर्मचारीलाई मात्र फाइदा हुने देखिएको छ । हरेकपटकको सार्कले त्यही देखाएको छ । सार्कको नाममा शार्क (समुद्री विशाल माछा)हरू लागिपरेका छन् आफ्नो दुनो सोझ्याउन । सार्कलाई अगाडि सारेर शार्क चुरीफुरीले के गर्ने हो भन्न गाह्रो छ ।