प्रहरीको सक्रियतामा रोकियो बालविवाह

प्रहरीको सक्रियतामा रोकियो बालविवाह


सोलुखुम्बुको माहाकुलुङ गाउँपालिकामा उमेर नपुगी हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन लागेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले ती विवाह रोकेको हो ।

अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोकेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए । विवाह हुनबाट रोकिएका तीनैजना बालिकालाई स्थानीय जनप्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको प्रमुख शर्माले बताए ।

बीस वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानुनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने–गराउने सबै पक्षलाई रु. ३० हजारसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । जिल्लाको अधिकांश क्षेत्रमा अझै पनि बालविवाह अत्यधिक हुने भएकाले यसको रोकथामका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षले जोड दिएका छन् ।