कर असुलीमा शुक्लागण्डकीको छलाङ

कर असुलीमा शुक्लागण्डकीको छलाङ


तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ को चार महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

नगरपालिकाले चालू आवमा पाँच करोड चार लाख १३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा चार महिनामै आठ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले मंसिरको मध्यसम्म रु. आठ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व संकलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् ।

उनका अनुसार आन्तरिक उत्पादन करबाट रु. तीन करोड ६७ लाख ५४ हजार ५००, ढुंगा, गिटी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट रु. दुई करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्यांकन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिसलगायतबाट रु. एक करोड २१ लाख संकलन भएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व संकलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको रसाइलीले बताइन् । ‘गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेनौँ,’ उनले भनिन् ।

नगरपालिकाले गत आवमा रु. ६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा रु. चार करोड मात्रै संकलन भएको थियो । नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उनको भनाइ छ ।