वडाको सेवा घरघरमै, राजश्व संकलन पनि सँगसँगै

वडाको सेवा घरघरमै, राजश्व संकलन पनि सँगसँगै


रुकुम (पश्चिम)का स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ ।

एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पु¥याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर आयोजना गरेको थियो । जसबाट वडावासीले वडाका साथै स्वास्थ्य तथा पशु सेवा शाखाबाट पाइने सेवासमेत पाएका छन् । नागरिकलाई गाउँगाउँमा सिंहदरबार आएको महसुस गराउनका लागि गाउँगाउँमा पुगेर सेवा दिएको वडाध्यक्ष नवीन ओलीले जानकारी दिए । वडाले कामी गाउँ हिल, लिउडाँडा चौखावाङ, कुन्सिम्ला र वडा कार्यालय होल्तारामा एकीकृत घुम्ती शिविर आयोजना गरी सेवा दिएको उनको भनाइ छ ।

वडाले सञ्चालन गरेको एकीकृत शिविरबाट १० जनालाई विभिन्नखाले व्यक्तिगत सिफारिस, पाँचजनालाई नागरिकता र तीनजनालाई नागरिकताको प्रतिलिपिको सिफारिस गरिएको छ भने २५ जनाको जन्मदर्ता, दुईजनाको विवाहदर्ता, दुईजनाको मृत्युदर्ता र नौजना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने फारम भरिएको छ ।

यसैगरी २३५ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको छ । त्यस्तै, २४५ घरपरिवारलाई विभिन्नखाले पशु चौपायाका लागि निःशुल्क औषधि पनि वितरण गरिएको छ । जसबाट एक लाख २५ हजार ३०९ रुपैयाँ राजश्व संकलन भएको वडाले जानकारी दिएको छ ।