नेपाल तरुण दल सिन्धुपाल्चोकमा समानान्तर समिति गठन भएको छ । हाल रहेका अध्यक्ष दोर्जे लामा पार्टी सदस्यसमेत नभएको दाबी गर्दै कांग्रेसका युवाहरूले नयाँ समिति गठन गरेका हुन् ।
सभापति पदमा रहेका लामा पार्टी छाडेर चुनावका बेला तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले नेपाली कांग्रेस परित्याग गरेपछि तरुण दल केन्द्र र नेपाली कांग्रेस सिन्धुपाल्चोकले साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको घोषणा गर्दै विज्ञप्ति जारी गरेका थिए । सभापति विकाश लामाद्वारा २०७४ भदौ ५ मा र सोही मितिमा तरुण दल केन्द्रीय समितिका अध्यक्ष जितजंग बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिलाई आधार मान्दै युवाहरूले समानान्तर समिति बनाएका हुन् ।
लामा पुनः कांग्रेसमा फर्केपछि आफू तरुण दलको अध्यक्ष नै भइरहेको दाबी गरेका थिए । तरुण दलकै समितिमा रहेका अन्य पदाधिकारी र सदस्यहरू भने लामालाई अध्यक्ष नमान्ने तर्क राख्छन् । जिल्लाको अरनिको राजमार्गअन्तर्गत पर्ने सुकुटे बजारमा आयोजित छलफलमा नयाँ समिति गठन गरिएको हो ।
सुकुटेको छलफलपछि चौतारामा पत्रकार सम्मेलन गरी नयाँ समितिको सार्वजनिक गरिएको थियो । युवा नेता प्रमोद लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा राज गुरुङ, अर्का उपाध्यक्षमा निरन्जन खड्का, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः निरज नेपाल, रामशरण भण्डारी र राजकुमार भण्डारी रहेका छन् । त्यस्तै, सदस्यहरुमा विकाश श्रेष्ठ, राजकुमार कार्की, कविता गुरुङ, प्रेमलाल तामाङ, भगवती कार्की, रविन्द्र दर्नाल लगायत छन् । नयाँ निर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस क्षेत्र नं. २ का अध्यक्ष बालकृष्ण बस्नेतले टीका र खादा लगाएर स्वागत गरेका थिए ।
नेपाल तरुण दलको विधानअनुसार पार्टी छाडेर गएपछि फेरि फर्किएकाहरू प्रारम्भिक सदस्य हुने भएकाले नयाँ समिति निर्माण गरिएको अध्यक्ष प्रमोदले बताए । विधानमा तरुण दलमा रहनका लागि ४५ वर्षभन्दा मुनि हुने र दोर्जेको उमेरसमेत कटिसकेको उनले दाबी गरे । तरुण दल सिन्धुपाल्चोक अध्यक्षविहीन भएकाले नयाँ समिति गठन गरिएको युवाहरूको भनाई छ ।
प्रतिक्रिया