राष्ट्रियताको विषयमा कुरा गर्ने नेताहरूलाई विमलेन्द्र निधिले प्रतिगामी भनेपछि काङ्ग्रेस केन्द्रीय समितिको आजको बैठकमा झण्डै हात हालाहाल भएको समाचार प्राप्त भएको छ।
विमलेन्द्र निधिले तयार पारेको प्रतिवेदनमा राष्ट्रियता, राष्ट्रिय एकता र मौलिक धर्म संस्कृति प्रवर्धन गर्न प्रोत्साहित गर्ने कुनै वाक्यांश नभेटेपछि नेताहरूले प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने धारणा प्रकट गरेका थिए। देशको ८२ प्रतिशत सनातनी हिन्दू धर्मालम्वी जनताको भावनालाई सम्मान र सम्बोधन गर्न एक शब्द खर्च नगरिएको, तर धर्मनिरपेक्षतालाई ‘महान उपलब्धि’ भन्दै त्यसको रक्षा र विकाश गर्ने मूख्य दायित्व काङ्ग्रेसको भएको भन्ने जस्ता शब्द पटक-पटक दोहोर्याएर उल्लेख भएकोप्रति पनि नेताहरूले गम्भीर आपत्ति जनाएका थिए।
हिन्दू धर्मावलम्वीहरूको भावनालाई प्रतिवेदनमा समेट्नु पर्छ भनेर नेताहरू डाक्टर प्रकाशरण महत, चन्द्र भण्डारी, शङ्कर भण्डारी, एनपी साउद र महेश आचार्यले जोड दिएपछि विमलेन्द्रले रिसाउँदै हिन्दूको कुरा गर्नेहरू सबै प्रतिगामी हुन् भनेका थिए। त्यसपछि क्रुद्ध भएका नेताहरूले निधिलाई आफ्नो ‘कुवाक्य’फिर्ता लिन आग्रह गरेको र नमानेपछि चर्काचर्की परेको थियो।
त्यस क्रममा हात हालाहाल हुन लागेपछि सभापति शेरबहादुर देउवाले हिन्दू धर्मावलम्वीको भावनालाई सम्बोधन गर्नेगरी प्रतिवेदन संशोधन गर्ने भनेपछि निधिले देउवालाई पनि झम्टिएका थिए। निधिले पार्टीको इतिहासमा खुमबहादुर खड्का र चक्र बास्तोलाले पुऱ्याएको योगदानबारे उल्लेख गर्न नचाहेको र दुई स्वर्गीय नेताको नामसमेत प्रतिवेदनमा लेख्न नचाहेका थिए। यस विषयमा पनि नेताहरूको चर्काचर्की परेको थियो।
प्रतिक्रिया