सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने स्पष्ट पारेका छन् ।
कठमाडौंमा आयोजित एक कायक्रममा बोल्दै नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समीक्षा हुने जनाएका हुन् । उनले भने,‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं । सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ । यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमि कमजोरीहरुबारे छलफल र समिक्षा दुवै हुन्छ ।’
पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको रायमाझीको विश्वास छ । उनले भने,‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ । सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराइबाट खुशी छु ।’
पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले थपे,‘बाटाघाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ । खाल्डाखुल्डीहरु पुरिएको छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन् ।’
फरक प्रसँगमा उनले नेपालका कम्युनिष्टहरुको आधार भनेको नै संघीयता भएकोले आफूहरु संघीयताको विरोधी नभएको स्पष्ट पारे । ‘कम्युनिष्टहरुले राज्यको निरंकुशता फाल्नको लागि निर्णायक भूमिका खेलेका छन्’–उनले भने,‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक, लोकतन्त्र र प्रजातन्त्रको लागि कम्युनिष्टहरुको महत्वपूर्ण भूमिका थियो । हामीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । त्यही भएर जनताले हामीलाई स्विकार गर्नुभयो । बहुमत दिनुभयो ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको इतिहासमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन् । उनले भने,‘उहाँजस्तो लिवरल सभापति कांग्रेसको इतिहासमै कोही पनि छैन् । उहाँले अरु नेतासँग सरसल्लाह नगरी कुनैपनि निर्णय लिनुहुँदैन । विधानले सभापतिलाई दिएको अधिकार प्रयोगपनि उहाँले गर्नुभएको छैन।’
नेता यादवले शुक्रबारबाट सुरु हुने पार्टीको महासमिति बैठकमा पार्टीलाई संघीय ढाँचामा लैजानेबारे छलफल हुने स्पष्ट पारे । उनले भने,‘पार्टीको आगामी कार्यदिशा कस्तो हुन्छ भन्ने विषयमा पनि हामी गम्भिर छलफल गर्छौं ।’ कांग्रेस कमजोर भयो भने मुलुकमा लोकतन्त्र नै कमजोर हुने भएकोले कसरी लोकतान्त्रि पद्धतीलाई मजबुद बनाउने भन्नेबारेपनि महासमिति बैठकमा छलफल हुने उनले जनाए ।
यादवले अहिले पदाधिकारीको संख्या नथपिने पनि जिकिर गरे । उनले भने,‘२ वटा उपसभापति, २ महामन्त्री र २ सह–महामन्त्री हुन्छ । तर, ४ जना उपसभापति हुँदैन् ।’ महासमिति बैठकमा कसैको पनि दुई तिहाई बहुमत नपुग्ने भएकोले विधानमा जे–जे विषय सहमति हुन्छ तीनलाई अघि लैजाने र सहमति भएन भने पूरानै लागु हुने उनको दाबी छ । उनले भने,‘पूरानो विधानपनि वैज्ञानिक छ ।’
फरक प्रसँगमा उनले वर्तमान सरकार आँफै धर्म प्रचारमा लागेको आरोप लगाए । उनले भने,‘सरकार धर्मको प्रचारमा मात्रै होईन, कमाउ धन्धामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामापनि लागिसक्यो ।’
सरकार गठन भएको एक वर्ष भैसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनको गुनासो छ । उनले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाईनमा लागेको पनि आरोप लगाए । यादवले भने,‘सरकार व्यापारमा लागिसक्यो । चीनमाजस्तो कम्युनिष्ट शासन व्यवस्था लाद्न खोज्दैछ । तर चीनमा त ७ जनाले शासन चलाउँछन् । हाम्रो नेपालमा त चार÷पाँच जनाले नै शासन चलाउन खोजेका छन् । अहिले ५० अर्बको योजना सरकारले बिना प्रतिष्पर्धा दिने भनेको छ ।’
हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटको नाममा वर्तमान सरकारले क्रिश्चियन धर्मलाई प्रचार गर्ने काम गरेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारको यो कदमले हिन्दूहरु सशंकित भएका छन् । सरकारले संविधानलाई मिच्न खोजिरहेको छ । यसप्रति कांग्रेस गम्भिर बनेको छ । हामी चिन्तित छौं ।’
प्रतिक्रिया