प्रचण्डसँग लतारिँदै बाबुराम !

प्रचण्डसँग लतारिँदै बाबुराम !


sampadakeeyaसंविधानसभाले बनाएको कार्यतालिका प्राविधिक रूपले अब क्षतविक्षत बनेको छ । यदि कार्यतालिकाअनुसार सभासद्हरू संविधान निर्माण प्रक्रियामा रहन्थे भने यतिबेला संविधानको मस्यौदामाथि सभामा छलफल चलिरहेको हुनुपथ्र्यो । संविधानको साङ्गोपाङ्ग मस्यौदा, जो संविधानसभाबाट तयार भई आमजनताबीच छलफलको निम्ति पठाइन्थ्यो, जनताका रायसुझाव वा मत–अभिमतसहित त्यो संविधानसभामै फर्केर आइसकेको हुने थियो, यदि उत्साह र अठोटका साथ संविधानसभाले पारित गरेको कार्यतालिका यसका सदस्यहरूले अनुशरण गरेका हुन्थे भने । अब त समयले यति पछाडि धकेलिसकेको छ कि अझै माघ ८ को समय–सीमा जपिरहनु दिउँसै रात पार्न खोज्नुसरह मात्र हो । कुनै हालतमा त्यो मितिमा संविधान जारी हुन नसक्ने निश्चित भइसकेको छ । आश्चर्य त यो छ कि अझै पनि समयसीमा पर्खन कतिपय नेताहरू जनसमक्ष आग्रह गर्न हिच्किचाइरहेका छैनन् । यसरी नागरिकलाई मूर्ख तुल्याउन खोज्नु निरर्थक मात्र नभई अनर्थकारी प्रयत्न सावित हुन सक्छ ।
आफ्नै पार्टीको अन्तरद्वन्द्वबाट थिल्थिलो बनेका एमाओवादी सुप्रिमो प्रचण्ड निर्वाचनमा धुलो चाटेका अनेक रूपरङका दलरूपी बेलुनमा हावा भर्न दिलोज्यानले लागेका छन् । बाइसदलीय मोर्चा नामक बुख्याँचा खडा गरी तिनैको वैशाखीमा उभिएर उचो कुर्सी हातपार्ने मनसुवा ‘मोर्चा’को उट्पट्याङपूर्ण आन्दोलनकै भरमा मात्र पूरा नहुने प्रस्टिएपछि प्रचण्ड हतास भएका छन् । फलतः उनी पुनः बङ्कर र बारुदको राग अलाप्न थालेका छन् । अलिकति विवेक हुँदो हो त अब यस्ता धम्कीमार्फत त्रास खडा गरेर सत्ताको सपना देख्ने सोच सोम शर्माको सातुको कथाजस्तो मात्र हो भन्ने हेक्का प्रचण्डलाई हुन्थ्यो नै होला । तर, नेपालीकै दुर्भाग्य भन्नुपर्छ, आफूलाई ‘चामत्कारिक नेता’ भनाएर आत्मरति लिने प्रचण्डजस्ता व्यक्ति बुद्ध बन्ने यात्रा नचिनेर आफैँलाई ‘बुद्धू’ सावित गर्दै छन् । निरन्तर ओरालो यात्रामा बरालिँदा पनि उनी उकालो नै चढिरहेको भ्रममा रहेको आभास हुनु देशकै दुर्भाग्य हो । उत्पीडित जाति तथा वर्गका लागि लड्ने कसम खाएका व्यक्ति आज जात–जात र क्षेत्रविशेषलाई राज्य बाँड्ने र अनौठा वक्तव्य बर्बराउँदै बरालिने बिन्दुमा आइपुगेका छन् । प्रचण्ड या माओवादीको मात्र नभई यो देशकै दुर्भाग्य हो ।
गत चुनावमा जब जनताले एमाओवादीका मुद्दा या एजेण्डालाई तिरस्कार गरिदिए, त्यतिबेलै सचेत तप्काले अनुमान लगाएकै थियो– ‘दोस्रो संविधानसभाले पनि यो मुलुकमा संविधान दिन नसक्ने भयो !’ अर्थात्, प्रचण्डको पार्टीले फेरि पनि संविधान निर्माण कार्यमा भाँजो हाल्ने सम्भावना चारैतिरबाट औँल्याइयो । देश र आमजनता नभई आफूलाई केन्द्रमा राखेर सोच्ने र हरेक क्रियाकलाप यही आत्मकेन्द्रित सोचका आधारमा सञ्चालन गर्ने प्रचण्डका त्यसयताका व्यवहार नभन्दै संविधान बन्न नदिनेमै केन्द्रित देखिन्छन् । समयले यही सिद्ध गरिरहेको छ । दुःखको कुरा त यो छ कि प्रचण्डका बिब्ल्याँटा व्यवहारका बाबजुद उनकै दलमा आफूलाई दोस्रो दर्जाको नेता ठान्ने बाबुराम भट्टराई आन्तरिक अप्ठ्यारासँग जुझ्दै समयमा संविधान ल्याउन प्रतिबद्ध देखिएका थिए, तर यो पनि फगत भ्रम सावित हुन पुगेको छ । बाबुरामको विवेक जागृत नै छ र जुन कित्तामा उभिएका भए पनि विवेक विनासतर्फ उन्मुख हुन सक्दैन भन्ने यकिन गरी प्रमुख दलहरूले उनलाई संविधानसभाको महŒवपूर्ण निकाय ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति’को अगुवा छनोट गरेका थिए । तर, ‘जो अगुवा उही….’ भन्ने उखान चरितार्थ गर्दै उनी पनि प्रचण्डकै मतियार बनेर उभिन पुगेका छन् । अहिलेको राष्ट्रिय परिस्थितिप्रति जानिफकार छन्, अन्तर्राष्ट्रिय समुदायले के भन्छ भन्नेमा पनि सचेत छन् भन्ने सोच बाबुराम भट्टराईबारे बौद्धिक तप्काले राखेको थियो । तर, उनले त्यही निरीहता प्रदर्शन गरे जो पहिले–पहिले उनको पार्टीभित्र प्रचण्डसामु प्रकट गर्दै आएका थिए । समयमा संविधान बन्न नदिएर राजनीतिक माहोल धमिल्याउने र त्यही निस्पट्टतामा हातपाउ मारेर सत्ताको आसन कब्जा गर्ने प्रचण्डको मृगतृष्णाको सिकार बने उनी पनि । उनको सभापतित्वमा रहेको समितिमा काङ्ग्रेस–एमालेले प्रस्तुत गरेको प्रस्तावलाई अलपत्र तुल्याउने अभीष्टले यही अथ्र्याइरहेको छ । आफैँ ओरालो लागेका प्रचण्डले बाबुरामलाई समेत लतारेर तलतिरै झार्ने नै भए । ‘विवेकी’ बाबुरामले कति बुझेका छन् कुन्नी ! दुनियाँले त यस्तै लख काट्दै छ । हिजो संविधानसभालाई अकालमा अवसान गराएको दाग नमेटिँदै फेरि पनि संविधान बन्न नदिएको अपजस जानाजान निम्त्याउन खोज्नुलाई अब कुन रूपमा चित्रित गर्ने ?