तुलसीपुरको एक पसलमा आगलागी, ५ करोडको क्षति

तुलसीपुरको एक पसलमा आगलागी, ५ करोडको क्षति


दाङको तुलसीपुरस्थित एक पसलबाट सल्किएको आगाले पूरै घर जलेको छ । आगोले पसल रहेको घर पूरै क्षतिग्रस्त भएको छ भने करिब ५ करोड बराबरको आर्थिक क्षति अनुमान गरिएको छ ।

स्थानीय भीम घिमिरेले सञ्चालन गर्दै आएको होलसेल जुत्ता–चप्पल पसलमा आगो लागेको हो । उनको आफ्नै घरमा सञ्चालन गर्दै आएको पसल जलेर खरानी भएको छ । आजै बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो सल्किएको थाहा पाएका घिमिरेको परिवार सोही घरको माथिल्लो तल्लामा बस्दथ्यो । तर घटनामा मानवीय क्षति चाहिँ भएको छैन ।

विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरका साथै घोराही उपमहानगरपालिकाको दमकल समेत आगो नियन्त्रणका लागि पुगेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरुको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ ।