सरकारमाथि ‘अपराधी संरक्षक’को आरोप

सरकारमाथि ‘अपराधी संरक्षक’को आरोप


– रेजिना गौतम

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनामा पीडितलाई न्याय दिनुका सट्टा सरकारले पीडकको संरक्षण गरेको नेपाल महिला संघ झापाले आरोप लगाएको छ ।

महिला संघद्वारा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महिला संघले यस्तो आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा नेपाल महिला संघ झापाकी सभापति सुुशीला ढकालले बलात्कार र हत्या जस्ता जधन्य अपराधमा संलग्नलाई तत्काल पक्राऊ गरी अंगभंग हुने गरी कारवाही गर्न माग समेत गर्नुभयो ।

संघकी जिल्ला सभापति सुशीला ढकाल र केन्द्रीय सदस्य गोमा भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘अपराधी जोगाएर सरकारले निर्दोषलाई सास्ति दिने काम गरेको छ, अपराधीलाई स्थानीयले निशाना गर्दा पनि कारवाही गर्न नसक्नु लज्जास्पद हो, घटनामा संलग्नलाई जोगाएर निर्दोषलाई जबर्जस्ती दोषी बनाउन खोज्नुले सरकार अपराधीलाई संरक्षण गर्न लागेको स्पष्ट हुन्छ ।’

महिला संघले राजनीतिक स्थायित्वपछि विकास र समृद्धितर्फ अघि बढ्नुपर्नेमा महिलाले हत्या र हिंसाको शिकार बन्नु परेको भन्दै संघले महिला तथा बालबालिकाको संरक्षणमा राज्य गम्भीर हुनुपर्ने नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराईले बताउनुभयो ।

निर्मला हत्या काण्डमा पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिएको कुखुरा चोर्ने व्यक्ति नै अपराधी प्रमाणित भएको भए घटना ढाकछोप गर्न प्रमाण नै नष्ट गर्नेसम्मको पहुँच कहाँबाट पुग्यो त्यसको पनि पुष्टि गर्न महिला संघ दमक नगरसभापति मन्धरा पौडेलले माग गरेकी छन् ।

पत्रकार सम्मेलनमा दुईतिहाईको सरकार आएपछि मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम हुनुको सट्टा दुधे बालकदेखि ७५ वर्षे वृद्धासम्मले बलात्कृत हुनु देशकै बद्नाम भएको भन्दै कांग्रेस महासमिति सदस्य सिता पौडेलले घटनामा संलग्नलाई कारवाहीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।