काङ्ग्रेस महासमिति बैठक शनिबार उद्घाटन हुँदै, तीन प्रस्ताव पारित

काङ्ग्रेस महासमिति बैठक शनिबार उद्घाटन हुँदै, तीन प्रस्ताव पारित


नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा पेश हुने तीन प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले राजनीतिक, साङ्गठनिक र आन्तरिक आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको हो ।

यही मङ्सिर ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशाङ्क कोइरालाले साङ्गठनिक, अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गरेका थिए । समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघि नै पारित भइसकेको छ भने विधान संशोधनसम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन ।

आजदेखि शुरु भई पुस ३ गतेसम्म चल्ने काङ्ग्रेसको महासमिति बैठकको उद्घाटन भोली शनिबार हुनेछ । काङ्ग्रेसले संविधानको सङ्घीयता संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो ।

बैठकले उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार सो पार्टीका २०० जनालाई महासमिति सदस्य र १५० जना पर्यवेक्षक दिने निर्णयसमेत गरेको बताइएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले विधान संशोधनमा देखिएको विवाद सहमतिका साथ टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । महासमिति बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।