समय, परिस्थिति र सम्बन्ध जस्तो भए तापनि महत्वपूर्ण दिन, समय र समारोहमा भने आफ्नो ठान्नेको उपस्थिति भएन भने समारोह नै निरस र बेचयन हुँदोरहेछ । यस्तै भयो गत आइतबार चलचित्र निर्माता छवि ओझालाई पनि । चलचित्र क्षेत्रमा सिङ्गो २५ वर्ष बिताएको र आफ्नो उमेर ५० वर्ष पुगेको अवसरमा उनले एक विशेष कार्यक्रमको आयोजना गरे । कार्यक्रममा यो पच्चीस वर्षमा निर्माण गरेका चलचित्रका निर्देशक, नायक, नायिका अनि अन्य प्राविधिकलाई निमन्त्रणा गरेका थिए । तर, त्यो भीडमा सबैको नजर भने अभिनेत्री रेखा थापालाई हेर्न प्रतीक्षारत थिए । करिब १५ वर्ष रेखासँगै बिताएका छवि र १७ वटा फिल्ममध्ये ११ वटा फिल्ममा देखापरेकी रेखा थापाको उपस्थिति त्यो समारोहमा हुने कुरामा सबै ढुक्क थिए र रेखा थापा आउने आशामा नै कार्यक्रम आधा घन्टा ढिलो गरिएको थियो । अन्ततः रेखा त आइनन्, उनको सन्देश भने छवि ओझाको मोबाइलमा आयो । छविले समारोहमा नै म्यासेज पढे । म्यासेजमा लेखिएको थियो, ‘जन्म दिनको शुभकामना । जीवन फलोस् फुलोस्… ।’
रेखा नआएर उनको म्यासेज आएपछि अघिसम्म रेखाको बाटो कुरेका छविको प्रतीक्षा तोडियो अनि उनले कार्यक्रम सुरुवात गरे । छविले पछि समारोह सकिएपछि भने, ‘सम्बन्ध जे–जस्तो भए तापनि अनुहार मात्र देखाउन आएको भए पनि म गौरवान्वित हुन्थेँ । मेरो शिर उचो हुन्थ्यो ।’ यसो भन्दाभन्दै पनि छविले रेखाको म्यासेज आएकोमा पनि प्रसन्नता भने व्यक्त गरे । म्यासेजलाई पनि सकारात्मक रूपमा लिइदिन अन्य चलचित्रकर्मीले आग्रह गरेका थिए समारोहमा । समारोहमा गाइँगुइँ चलिरह्यो, ‘बजारमा जे–जस्ता हल्ला चले तापनि रेखा र छविबीच एउटा कुनामा माया पे्रमको बिउ भने अझै बाँकी रहेछ । त्यो खुद म्यासेजबाट प्रस्टिएको छ ।’
समारोहमा छवि ओझाका कचलचित्रबाट जन्मिएका तीन नायिका पूजना प्रधान, रजनी शर्मा र शिल्पा पोखरेलको पनि उपस्थिति त थियो, तर ती अभिनेत्रीको उपस्थितिले खासै रौनकता थपिएन । यिनीहरूको दाँजोमा रेखा थापा एक्लैको उपस्थिति भएको भए समारोहमा रौनकता मात्र होइन कि मिडियालाई सही खुराक पनि हुन्थ्यो । समारोहमा रेखा नआए तापनि कार्यक्रम अवधिभर उनको चर्चा भइनै रह्यो ।
बैंकको बात लाग्दा केकी दुःखी
पुराना कलाकर्मी हुन् बद्री अधिकारी । दामभन्दा पनि उनको नाम र इज्जत बजारमा रामै्र छ । तर, केही समयअगाडि ऋण तिर्न नसक्दा छापामा उनको नाम प्रकासनमा आएपछि चलचित्रकर्मी बद्री अधिकारीलाई हेर्ने नजर नै फेरिएको छ । यतिबेला तनावमा रहेका बद्री अधिकारीकी पुत्री एवम् अभिनेत्री केकी अधिकारी पनि तनावमा नै छिन् । पिताले व्यवसाय गर्नका लागि बैंकबाट लिएको ऋणमा साक्षी बनेकी केकीको नाम मिडियाले ऋण लिएभन्दा बढी उचाल्न थालेपछि केकी पनि मिडियादेखि क्षुब्ध हुन थालेकी छिन् । उनले भनेकी छिन्, ‘व्यवसाय सबैले गर्छन्, कोही नाफामा हुन्छन् न कोही घाटामा । तर, मेरो नामलाई बजारमा यसरी प्रचार गरियो कि म संसारकै झुर व्यापारी हुँ र बैंकको ऋण खाएर भाग्न लागेकी छु ।’ ऋण तिर्न पैंतीस दिनको सूचना आएको भरमा ऋण नै तिर्न नसक्ने र नसकेको जस्तो अर्थ लगाएर मिडियामा बारम्बार समाचार आउँदा केहीलाई आलाकाँचा समाचार र त्यस्ता समाचार लेख्नेहरू देखेर अचम्म लागेको छ । ‘ऋण खाएर हामी भाग्ने होइनौँ, हामी तिर्छाैं, तर बजारमा केकी कालोसूचीमा परी भनेर वाहियात र गलत समाचार आउँदा भने मन दुखेको छ,’ उनले भनिन् । उनले व्यवसायमा आउने उतारचढावलाई ठूलो नै इस्यू बनाएर बजार गरम पार्न खोज्ने गलत नियतबाट आफू दिक्क भएको कुरा बताइन् ।
प्रतिक्रिया