महासमिति बैठकमा धार्मिक स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान

महासमिति बैठकमा धार्मिक स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान


काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दू धर्मको पक्षमा हस्ताक्षर अभियान थालिएको छ । बैठक चलिरहेको स्थानमा स्व. खुमबहादुर खड्का निकटका नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दू राज्य कायम गर्नुपर्ने माग गर्दै महासमिति सदस्यहरुबाट हस्ताक्षर संकलन गरिएको हो । पार्टीलाई हिन्दू राज्यको पक्षमा उभिन दबाब दिनका लागि हस्ताक्षर संकलन गरेर आजको बैठकमा बुझाइने नेता भण्डारीले जानकारी दिए ।

यता, महामन्त्री डा. शशांक कोइरालाले पार्टीको संगठन सम्बन्धि प्रस्ताव, सह–महामन्त्री प्रकाशसरण महतले आर्थिक प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका छन् । प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्नका लागि महासमिति सदस्यहरुलाई सात प्रदेशको समूहमा विभाजित गरेर छलफल गराउने र उक्त समूहले बुझाउने प्रतिवेदनसहित प्रस्तुत भएका प्रतिवेदन माथि आज हुने बैठकमा छलफल हुने भएको छ । यस्तै उपसभापति विमलेन्द्र निधिले हिजै राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् ।

यस्तै, विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको छ । विधान मस्यौदामा सहमति गर्न आइतबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको थियो । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुनेछ ।