सभापतिको प्रस्ताव महासमिति सदस्यद्वारा होहल्लासहित अस्वीकार

सभापतिको प्रस्ताव महासमिति सदस्यद्वारा होहल्लासहित अस्वीकार


विधान मस्यौदामा सहमति हुन नसक्दा नेपाली कांग्रेसको महासमिति बैठक प्रभावित हुँदै आएको छ । पार्टीको विधान मस्यौदालाई पारित गर्न महासमिति बैठक नै स्थगित गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्ने अवस्था निम्तिएको छ ।

यतिबेला सिंहदरबारमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । विधान मस्यौदामा सहमति जुटाएर बैठकमा लगी पारित गराउने उद्देश्यले कार्यसमिति बैठक बोलाइएको भए पनि सहजै सहमति जुट्नेमा कांग्रेसजन नै विश्वस्त हुन सकिरहेका छैनन् । तथापि, विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी पदाधिकारी बैठक बसेको थियो । यो बैठकबस्नुअघि महासमिति बैठकस्थलमा अर्को रोचक घटना घटेको थियो । बुझिएअनुसार केन्द्रिय कार्यसमिति बैठक बस्नुपर्ने कारण देखाउँदै सभापति शेरबहादुर देउवाले विजय गच्छदारलाई कार्यवाहक जिम्मेवारी दिएर महासमितिको बन्दसत्र जारी राख्न आदेश गरेका थिए । तर, उनको यो प्रयासलाई महासमिति सदस्यहरुले होहल्लाका साथ अस्वीकार गरिदिए । अन्ततः बैठक नै स्थगित गर्न उनी बाध्य भएका हुन् ।

विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको चयन प्रक्रियाबारे काङ्ग्रेसमा बहस जारी छ । संस्थापन पक्ष पदाधिकारी सङ्ख्या बढाउन नहुने र बढाए पनि सभापति, एक महामन्त्री र एक कोषाध्यक्षबाहेक अन्य पदाधिकारी सभापतिबाट मनोनयन हुनुपर्ने पक्षमा छ । संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै निर्वाचित हुनुपर्ने अडानमा छ । विधान मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउने लगभग सहमति भइसकेको बताइन्छ ।

महासमिति बैठकमा अन्य विभिन्न चार विषयका प्रस्तावमाथि महासमिति सदस्यले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबारदेखि शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रस्तावमाथि छलफल जारी छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ ।