शनिबारदेखि राजधानीमा जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबारबाट सदस्यहरूले आफ्नो धारणा राख्न सुरु गरेका छन् । आजको बैठकमा १० स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखेका छन् । बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेतृत्वविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
बैठकमा बोल्ने अधिकांश सदस्यले सरकार र पार्टी नेतृत्वले जनअपेक्षाअनुसार काम नगरेको बताएका छन् । पार्टी एकता प्रक्रियाले गति लिन नसकेको, प्रदेश कमिटी गठन मापदण्डअनुसार नभएको उनीहरूले भनाइ थियो ।
अध्यक्ष केपी ओली शर्मा र पुष्पकमल दाहालको प्रस्तवमा प्रसस्त उपलब्धि उल्लेख भए पनि सरकारको नौ महिना जनअपेक्षाअनुसार नभएको उनीहरूको भनाइ थियो ।
बैठकमा घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको बताएका थिए । भुसालले सरकार र नेतृत्व दुवैको आलोचना गर्दै पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिए । यही पाराले सरकार र नेतृत्व अघि बढे पार्टीलाई क्षति पुग्ने उनको भनाइ थियो ।
वामदेव गौतम भने आफैँले बैठकमा पेस गरेको पूरक प्रस्तावमाथि केन्द्रित रहेका थिए । नेतृत्वप्रति कडा रूपमा प्रस्तुत हुँदै गौतमले पार्टी सुधारका लागि बुँदागत रूपमा सुझाव पनि दिए ।
प्रतिक्रिया