बीस वर्षको समय एउटा मानिसको जीवनमा कति हो ? या, बीस वर्षले जीवनमा के अर्थ राख्छ ? यो प्रश्नको जवाफ व्यक्तिपिच्छे फरक हुन सक्छ । पूरा आयु बाँच्दा प्रायः ८० वर्षको आसपाससम्म यो धर्तीमा सास फेर्ने मानिसका लागि बीस वर्षको समय निश्चय नै ठूलो कालखण्ड हो । कसैले ‘बीस वर्षले के अर्थ राख्छ ?’ भनेर सोध्यो भनेचाहिँ भन्न सकिन्छ– ‘तपाईंले सो अवधि कसरी बाँच्नुभो त्यसमा भर पर्छ, चाहे त्यो बीस वर्ष होस् या बीस दिन ।’ हुन पनि यो बीस वर्षको बीचमा धेरै कुरा भएका छन् । विशेषगरी हाम्रो मुलुकमा, हामीले यसबीचमा के–के मात्रै देखेनौँ ? भोगेनौँ ? एक युगमा पनि मानिसलाई देख्न र भोग्न गाह्रो हुने कुरा सबै देखियो, भोगियो । बीस वर्षअघि चीनको राजधानी बेइजिङमा भएको चौथो विश्व सम्मेलनको तयारीका क्रममा महिला आन्दोलनकी अग्रणी नेतृ शान्ता थपलियाले भनेको सम्झन्छु– ‘महिला र सशस्त्र विद्रोहमा के छलफल गर्ने र खै हामीकहाँ त्यस्तो केही भएकै छैन, यो हाम्रो मुद्दा नै होइन ।’ हुन पनि महिला सरोकारका १२ वटा विषय भनेर बेइजिङ सम्मेलनले महत्वपूर्ण ठानेका विषयहरूमध्येको एक ‘महिला र सशस्त्र विद्रोह’ हाम्रो सरोकारको विषय थिएन । तर, त्यसको एक वर्ष नपुग्दै सुरु भएको माओवादी युद्धले दश वर्षका बीचमा सशस्त्र विद्रोहको असरका अनेक पाटाहरू हाम्रासामु छरपस्ट बनाइदियो । जसका कारण २० वर्षपछि चौथो विश्व महिला सम्मेलनको पुनरावलोकन हुँदा ‘महिला र सशस्त्र विद्रोह’ बुँदामा नेपालको नाम अग्रपङ्क्तिमै आउँछ । त्यतिबेला ‘हामीले यसमा चुपचाप बस्ने त हो नि है ?’ भन्नुहुने शान्ता म्याडम र चौथो विश्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ पुग्नुभएकी सहाना प्रधान विगतको मूल्याङ्कन गर्नलाई हामीमाझ हुनुहुन्न । अहिले हामी जस–जसले यो प्रक्रियालाई नजिकबाट हेरिरहेका छौँ, काम गरिरहेका छौँ, निश्चित छ अबको २० वर्षपछि हामीमध्ये कतिले यो संसार छोडिसकेका हुनेछौँ । तर, हामीले गर्न सकेका राम्रा कामहरूले निरन्तरता पाउनेछन्, जसरी शान्ता म्याडम, सहाना दिदी या विभिन्न मुलुकका अधिकारवादी महिलाले सुरु गरेका राम्रा कामको निरन्तरता अहिलेको पुस्ताले दिइरहेको छ ।
चौथो विश्व महिला सम्मेलनको बीसवर्षे उपलब्धि र यसबीचमा हुन नसकेका कुरालाई लिएर गत हप्ता बैंककमा एसिया प्यासिफिक मुलुकहरूको पुनरावलोकन बैठक सम्पन्न भएको छ । महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिलाविरुद्धको हिंसा, महिला र सशस्त्र सङ्घर्ष, महिला र अर्थतन्त्र, नीति निर्माण तहमा महिला, महिला उत्थानका लागि संस्थागत संरचना, महिला र मानवअधिकार, महिला र सञ्चार, महिला र वातावरण तथा बालिका गरी १२ वटा सरोकारका बुँदा बेइजिङ सम्मेलनले तय गरेको थियो । यी सबै बुँदामा विभिन्न देशमा भएका उपलब्धिहरू हेर्दा समानताको सवालमा यस बीस वर्षको बीचमा ठूलो फड्को मारेको महसुस गर्न सकिन्छ । नेपालमा पनि धेरै काम भएका छन् । २० वर्षअघि प्रतिनिधत्वको सवाल अहिले झैँ उठेको थिएन न त भूमिकाका कुराहरू नै थिए । यसबीचमा महिलाका मुद्दा मूल प्रवाहमा आएका छन् । विभिन्न कानुनको निर्माण भई कार्यान्वयनको चरणमा छन् । नयाँ–नयाँ सवालले स्थान पाएका छन् । शिक्षाको स्तरले निकै फड्को मारेको छ । हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आइरहेको छ । महिला स्वयम्मा पनि आत्मविश्वास बढेको छ । बेइजिङ सम्मेलनले उठाएका १२ सरोकारका सवाल विश्वका सबै मुलुकका महिलामा मिल्दाजुल्दा विषय हुन् । यी सबै विषयका साथ अहिले महिला र वैदेशिक रोजगारी, सूचनामा पहुँच, यौनिकता, जोखिमपूर्ण सांस्कृतिक अभ्यासलगायतका सवाल पनि अहिले त्यत्तिकै महत्वपूर्ण मानिएका छन् । २० वर्षअघि सोगी (सेक्सुअल ओरिएन्टेसन एन्ड जेन्डर आइडेन्टीटी) को सवाल उठेको थिएन, तर अहिले यौनिक अल्पसङ्ख्यकका रूपमा यो विषयले महत्व पाएको छ । यसपटकको पुनरावलोकन कार्यक्रममा रसिया, इरानलगायतका केही मुलुकबाहेक अरू सबैले महिलाभित्रका यौनिक विविधतालाई पनि समेट्नुपर्ने कुरामा जोड दिए । महिला र वैदेशिक रोजगारी हाम्रो सन्दर्भमा पनि त्यत्तिकै जल्दोबल्दो विषय हो । युवा महिला तथा महिला र प्रविधि पनि यसपटक उठेको अर्को महत्वपूर्ण सवाल हो ।
सन् १९७५ मा मेक्सिकोमा पहिलो विश्व सम्मेलन हुँदा महिलाले यो के गर्न लागे भनेर ठूलै हङ्गामा भएको थियो । त्यसको पाँच वर्षपछि सन् १९८० मा कोपनहेगनमा दोस्रो विश्व महिला सम्मेलन भयो, त्यसपछि १९९० मा नैरोवीमा तेस्रो र १९९५ मा बेइजिङमा चौथो विश्व महिला सम्मेलन भएका थिए । चौथो विश्व महिला सम्मेलनलाई महिला अधिकार र आन्दोलनको क्षेत्रमा महत्वपूर्ण आयाम मानिन्छ । महिला अधिकारका सवालमा विभिन्न दृष्टिकोणबाट विषयगत रूपमा सरोकारका बुँदाहरू छुट्याएर संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका कारण यसलाई महत्वपूर्ण मानिएको हो । उक्त सम्मेलनपछि नै धेरै देशमा महिलाका सवाल हेर्नका लागि छुट्टै मन्त्रालय तथा आयोगहरूको गठन भई कामहरू अघि बढेका छन् । हामीकहाँ पनि महिला मन्त्रालय, आयोग र विभिन्न मन्त्रालयमा जेन्डर फोकल प्वाइन्टको स्थापना बेइजिङ सम्मेलनपछि नै भएको हो । त्यसअघि महिलाका सवालमा काम गर्नका लागि महिला विकास शाखालाई मात्रै उत्तरदायी बनाइएको थियो । चौथो विश्व सम्मेलनले उठाएका सरोकारका बुँदाहरूमा के–कति उपलब्धि भए, नभएका भए किन हुन सकेनन् भनेर प्रत्येक पाँच वर्षमा संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दी स्टेटस अफ विमेन’मा पुनरावलोकन हुने गरेको छ । आगामी २०१५ को मार्चमा संयुक्त राष्ट्रसङ्घमा पुनरावलोकन हुनुअघि क्षेत्रीयस्तरमा कार्यक्रमहरू हुने गरेका छन् । यसपटक बैंककको कार्यक्रम यही प्रक्रियाको एउटा पाटो हो । यसअघि विभिन्न मुलुकमा राष्ट्रियस्तरमा पुनरावलोकन कार्यक्रमहरू भएका थिए । पाँचौँ विश्व सम्मेलन नगरीकन चौथो सम्मेलनपछिकै उपलब्धिहरूको रिभ्यु गर्नुको कारण महिलाका सवाललाई स्थापित गर्न जग दह्रो गर्नु नै हो । जग दह्रो भए घर बलियो हुन्छ, यी १२ सरोकारका बुँदाहरूमा उल्लेख्य प्रगति हुन सके अन्य मुद्दाहरूसमेतलाई समेटेर अघि बढ्दा फेरि पछाडि फर्किएर हेरिरहनुपर्दैन भन्ने नै हो । प्रत्येक पाँच वर्षमा गरिने यो पुनरावलोकन प्रक्रियालाई बेइजिङ सम्मेलनसँगै जोडेर बेइजिङ प्लस फाइभ, टेन, फिफ्टिन हुँदै अहिले ट्वान्टीमा पुगेको छ । बेइजिङ प्लस ट्वान्टी अर्थात् चौथो विश्व महिला सम्मेलनका २० वर्ष । संयुक्त राष्ट्रसङ्घीय प्रणालीका विभिन्न निकायहरूमध्ये महिलाका सवाल हेर्ने यूएन विमेनले यसको नेतृत्व लिएको छ । यसपटकको नारा ‘महिलाको सशक्तीकरण, मानवताको सशक्तीकरणः व्यवहारमै उतारौँ’ रहेको छ । संविधान निर्माणको पूर्वसन्ध्यामा आशा गरौँ, हाम्रो देशमा पनि महिला सशक्तीकरणको सवाल सवालमा मात्रै सीमित नरहेर व्यवहारमै उतार्नका लागि सन् २०१५ विशेष महत्वको हुनेछ ।
प्रतिक्रिया