बैठकमा नेताहरु घम्साघम्सीमा उत्रिएपछि…

बैठकमा नेताहरु घम्साघम्सीमा उत्रिएपछि…


नेपाली कांग्रेसको जारी महासमिति बैठक तोकिएको कार्यतालिकाअनुसार सम्पन्न नहुने परिस्थिति निर्माण भएको छ । कार्यतालिकाअनुसार बैठक आज मंगलबार सम्पन्न हुनुपर्ने थियो । तर, यतिबेलासम्म बैठकमा विधान मस्यौदा प्रतिवेदन नै प्रस्तुत हुन सकेको छैन । महासमिति सदस्यहरु प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राखिरहेका छन् भने नेताहरुबीच सहमति हुन नसक्दा प्रतिवेदन पेश हुनेमै अन्योलता बढेको छ ।

गुटको शिकार बनेको कांग्रेसको आन्तरिक विवाद सतहमै छताछुल्ल हुन पुगेको छ । आजको बैठकमा पौडेलपक्षीय महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने अडान लिएका छन् भने संस्थापन पक्ष यत्तिकै बैठक अघि बढाउन चाहिरहेका छन् । यस विषयमा खिचातानी चल्दै गर्दा नेका सहमहामन्त्री डा. प्रकाशशरण महत र उनकै जिल्ला नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीबीच झण्डै हात हालाहालको अवस्था निम्तिएको छ ।

केसीले विधान प्रतिवेदन बैठकमा पेश हुनुपर्ने माग चर्को स्वरले उठाएर बैठकको माहोल नै तताएपछि उनको हातमा भएको माइक डा. महतले खोसेका थिए । सो क्रममा सामानमा मात्र क्षति पुगेन, नेताहरुबीच घम्साघम्सी हुनुबाट जसोतसो स्थिति सम्हालिएको थियो । महत र केसीबीच धकेलाधकेल हुँदा अधिकांश महासमिति सदस्यहरुले केसीको पक्षमा हल्ला गरेका थिए । अन्ततः विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ ।

यता दूरदराजदेखि महासमिति बैठकमा सहभागी हुन आएका कांग्रेसजनहरु बैठक लम्बिन पुगेपछि निराश र नेताहरुप्रति आक्रोशित हुन पुगेका छन् । बैठको व्यवस्थाापन पनि चित्तबुझ्दो नभएको गुनासो उनीहरुले गरेका छन् ।