कांग्रेस महासमिति बैठकमा छलफल जारी

कांग्रेस महासमिति बैठकमा छलफल जारी


नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेनमाथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ ।

बैठक राजनीतिक, सांगठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भने भोलि मात्रै पेस हुने बताइएको छ । यसअघि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको संख्या र चयन प्रक्रियाको विवादले उक्त प्रतिवेदन बैठकमा पेस हुन सकेको थिएन ।

बैठकको पाँचौँ दिनदेखि जारी बन्दसत्रमा आजसम्म करिब १५० महासमिति सदस्यले आफ्ना धारणा व्यक्त गरिसकेको र हालसम्म ५०० भन्दा बढीले बोल्न नाम टिपाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सहभागीले पार्टीलाई राजनीतिक एकता कायम गरी सशक्त बनाउन, सरकारका गलत कामको निगरानी गर्न खरो ढंगले उपस्थिति जनाउन, कांग्रेसले विगतमा गरेका कामको राम्रोसँग सम्पेषण गर्नुपर्ने, आमनागरिकलाई छुने गरी आगामी योजना र कार्यक्रम बनाउनुपर्नेलगायतका सुझाव दिएका छन् ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने निर्णय भएको छ ।

कांग्रेस शीर्ष नेताले मंगलबार राति विधान मस्यौदा प्रतिवेदनमा देखिएको विवादको टुंगो लगाएका थिए । सहमतिअनुसार अब पार्टीमा कुल १६१ केन्द्रीय समिति रहने र त्यसमा ३३ केन्द्रीय सदस्य समावेशिताका आधारमा सभापतिबाट मनोनीत हुनेछन् । त्यस्तै, एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने निर्णय भएको छ ।

बिहानदेखि शुरु भएको महासमिति बैठकपछि आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने र केन्द्रीय समितिले विधान मस्यौदा पारित गर्ने उनले बताए । पारित विधान मस्यौदा प्रतिवेदनको छपाई कार्य गरी बिहीबार मात्र महासमिति बैठकमा पेस हुनेछ । महासमिति बैठकले पारित गरेपछि मात्र विधान लागू हुनेछ ।

महासमिति बैठक गत मंसिर २९ देखि पुस ३ गतेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयमा छलफल नसकिने भएपछि बैठक लम्बिएको र पुस ६ गतेसम्म जारी हुने प्रवक्ता शर्माले जानकारी दिए । शुरुवातदेखि आजसम्म सिंहदरबार मूल गेटनजिकको यगम्बर पार्टी प्यालेसमा भइरहेको महासमिति बैठक भोलिदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कांग्रेसले संविधानको संघीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले मुलुकभरबाट सुझाव संकलन गरी मुलुकको संघीय संरचनाअनुसार पार्टीको विधान संशोधन गर्न मस्यौदा तयार गरेको थियो ।

कांग्रेसको विधानमा हाल कुल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको महासमिति बैठक झन्डै एक हजार सात सय प्रतिनिधि सहभागी छन् ।