नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको चालू बैठकमा सहभागीहरू प्रधानमन्त्री केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध कठोर ढङ्गले प्रस्तुत भएका छन् । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र सहअध्यक्ष प्रचण्डद्वारा संयुक्त रूपमा प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति धेरैजसो सहभागीले असहमति जनाएका छन् भने नेता वामदेव गौतमले प्रतिवेदनकै शैलीमा आफ्नो बेग्लै मत लिखित रूपमा प्रस्तुत गरेका छन् ।
वामदेवको फरक मतमा सरकार पूरै असफल भएको र केपी ओली पदमा रहिरहँदा कम्युनिस्ट पार्टीको साख समाप्त हुने आशय प्रकट भएको छ । पैंतालीसजनाको स्थायी समितिका सदस्यहरूमध्ये योगेश भट्टराई र घनश्याम भुसालले केपीका विरुद्ध बोल्न केही पनि बाँकी नराखेको बताइन्छ । बैठकमा इसाईहरूको प्यासिफिक समिटमा प्रधानमन्त्री ओलीको सहभागिता र माधव नेपालको उक्त संस्थामा पुरानो आबद्धतालाई लिएर पनि सहभागीहरूले व्यापक आलोचना गरेका छन् ।
यसरी माधव र केपीको कठोर आलोचना भइरहँदा प्रचण्ड र उनका हितैषीहरू भने सञ्चो मानेर बसिरहेको बताइन्छ । चालू बैठकमा पार्टी सङ्गठनको एकीकरण प्रक्रियाले गति लिन नसकेको, सरकारको कामकारबाही प्रभावकारी बन्न नसकेको, प्रधानमन्त्रीको कार्यशैली निरङ्कुश तथा गुटवादी भएको र युनिफिकेसन चर्चसँग माधव नेपालको आबद्धताले पार्टी र आन्दोलनलाई क्षति पुऱ्याएकोजस्ता विषयहरूमा केन्द्रित रहेर स्थायी समिति सदस्यहरूले आफ्नो धारणा प्रकट गरिरहेका छन् ।
प्रतिक्रिया