हामीलाई काङ्ग्रेसबाटै खतरा छ : दीपकुमार उपाध्याय

हामीलाई काङ्ग्रेसबाटै खतरा छ : दीपकुमार उपाध्याय


० काङ्ग्रेस अहिले सत्तामा जान नहुने कारण के–के हुन् तपाईंको विचारमा ?
– काङ्ग्रेसले पछाडि फर्केर हेर्नुपर्छ । सत्तामा बस्दाखेरि काङ्ग्रेसलाई के–के फाइदा भयो ? त्यसको विश्लेषण हुनुपर्छ । सत्तामा रहँदाखेरि पार्टी सङ्गठन बलियो भयो कि भएन, पार्टीलाई के लाभ भयो त्यसको मूल्याङ्कन गरेर मात्र सरकारमा जानुपर्छ । सत्तामा बसेर हामीले पार्टीलाई बलियो बनाउन सकेनौँ ।

० सत्तामा रहँदा काङ्ग्रेसलाई फाइदा भएन र ?
सत्तामा बस्दा पार्टीलाई फाइदा भएन । केही व्यक्तिलाई फाइदा भयो होला । म त्यसलाई बहसमा ल्याउन चाहन्नँ, तर हामी सरकारमा रहँदा सङ्गठनलाई चाहिँ फाइदा भएको छैन ।

० काङ्ग्रेसलाई किन सत्तामा रहँदा फाइदा भएन ?
हामी सरकारमा बस्दा पार्टीको सङ्गठनलाई बलियो बनाउनेतिर ध्यान दिएनौँ । सरकार सञ्चालन गर्दा पार्टीलाई लाभ हुने काम हामीले गर्न सकेनौँ । व्यवस्थित तरिकाले पार्टी र सरकार सञ्चालन गर्न सकेनौँ । सङ्गठन बनाउनतिर सरकारमा रहनेहरूले पनि ध्यान दिएनन् ।

० तपाईं सत्ता परिवर्तन गर्नुहुन्न भन्ने पक्षमा उभिनुभएको छ नि किन ?
– म सत्ता परिवर्तन गर्नुहुँदैन भन्ने पक्षमा उभिएको होइन । सत्ता परिवर्तन गर्ने हो भने केका लागि गर्ने त्यो स्पष्ट हुनुपऱ्यो । हाम्रो पार्टीको सङ्गठनलाई आमुल परिवर्तन गरेर नयाँ दिशा र गति प्रदान गरी अगाडि बढ्यौँ भने काङ्ग्रेसको भविष्य एकदम उज्ज्वल छ ।

० यो सरकार कतिन्जेलसम्म चल्न दिँदा काङ्गे्रसलाई फाइदा हुन्छ ?
– प्रमुख प्रतिपक्षको नाताले जहिले मौका पाउँछौँ त्यही समयमा सरकार ढालिदिन्छौँ । त्यो स्वाभाविक कुरा हो । हामी हतारिएर प्रजातन्त्रको मूल्य, मान्यता र आदर्शविपरीत सधैँभरि राष्ट्रमा अस्थिरता, राष्ट्रलाई झन्झन् कमजोर बनाउने गरी हामी सरकार ढाल्नतिर लाग्दैनौँ । हामी मुलुकलाई स्थिरता दिन चाहन्छौँ । जे गर्दा स्थिरता दिन सक्छौँ त्यही गर्छौं ।

० काङ्ग्रेस अरू कुनै पार्टीको नेतृत्वमा सरकारमा जान चाहँदैन हो ?
– त्यो परिस्थितिमा भर पर्ने कुरा हो । अहिले तत्कालै अरूको लहैलहैमा कसैको स्वार्थका लागि हामी कारकतत्व बन्नुहुँदैन । हामीले पुलको काम पनि गर्नुहुँदैन ।

० तपाईंहरू सूर्यबहादुरको नेतृत्वमा सरकारमा जान तयार हुनुहुन्छ कि हुनुहुन्न ?
– राप्रपाभित्र पनि हामी सूर्यबहादुर थापा समूहका विचारसँग सहमत छौँ । अहिले प्रजातन्त्र र संवैधानिक राजतन्त्रको कुरामा थापाजीको समूहसँग हाम्रो धेरै कुरा मिल्छ । विगतको काङ्ग्रेसको सरकारलाई बचाइराख्न पनि आफ्नो पार्टीको नेताहरूको खिलाफमा पनि खुलेर लाग्नुभयो, त्यो कुरा हामीले बिर्सनुहुँदैन ।

० सूर्यबहादुर थापा सामूह र नेपाली काङ्ग्रेसबीच केही भिन्नता छैन भन्न खोज्नुभएको ?
– नेपालको राजनीतिमा अहिलेझैँ पछि पनि सूर्यबहादुर थापा समूह विचलित नभई लागिरह्यो भने आउने दिनमा थापाजीको समूह र हामी एकैठाउँमा हुन्छौँ । वर्तमान संविधानको सुरक्षाको लागि जहिले पनि हामी एकैठाउँमा हुन्छौँ जस्तो लाग्छ ।

० तपाईं सत्ता परिवर्तनको खेलमा सहभागी हुनुभएकै छैन त ?
– म अहिले त्यति सक्रिय रूपमा लागेको छैन । सरकार ढालेर हामीलाई के लाभ हुन्छ, त्यसको विश्लेषण गरेर मात्रै अगाडि बढ्छौँ । तर, पार्टीको साधारण सिपाहीको नाताले पार्टीले जे अह्राउँछ त्यो गर्न म तयार छु ।

० काङ्ग्रेस पार्टीकै केही नेताहरू सरकार ढाल्न सक्रिय रूपमा जुटिरहेका छन् नि त ?
– व्यक्तिगत रूपमा केही साथीहरू लाग्नुभएको होला, त्यो उहाँहरूको व्यक्तिगत कुरा हो । पार्टीले आधिकारिक रूपमा सत्ता परिवर्तनमा अहिले कुनै पहल गरेको छैन । पार्टीले नगरुन्जेल, काङ्ग्रेसले गरेको छ भन्न मिल्दैन ।

० खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेले गरेको सत्तासमीकरणको पहल आधिकारिक होइन त ?
– व्यक्तिगत रूपमा विभिन्न पार्टीका नेताहरूसँग वार्ता गर्न छुट छ । तर, पार्टीगत रूपमा खुमबहादुरजी र चिरञ्जीवीजीले पनि गर्नुभएको छैन । पार्टीले अहिलेसम्म सत्ता परिवर्तनको आधिकारिक निर्णय गरेको छैन ।

० तर, सरकार त चाँडै नै ढल्दैै छ भन्दै छन् नि त काङ्ग्रेसका नेताहरू ?
– अहिलेको वास्तविकतालाई हेर्ने हो भने सरकार अल्पमतमा छ । सरकारकै नेतृत्व गर्ने पार्टीका अध्यक्ष पनि यो समीकरणको विरुद्धमा हुनुहुन्छ । यो सरकार ढलेपछि बन्ने सरकार पनि कति स्थिर हुन्छ, कति स्थायी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो ।

० सूर्यबहादुरजीले कतिजना सांसद आफ्ना पक्षमा देखाउनुभयो भने तपाईंहरू सरकार ढाल्न सहयोग गर्नुहुन्छ ?
– राप्रपाका १५ जना सांसदले जनतासामु प्रतिबद्धता जाहेर गर्छन् भने हामी एमालेलाई सत्ताच्यूत गर्न राप्रपालाई सहयोग गर्छौँ ।

० यो सरकार ढलिसकेपछि काङ्ग्रेस नेतृत्वमा अर्को सरकार बन्न सक्दैन ?
– राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन । हमीले अब कसरी राष्ट्रलाई उन्नतितर्फ लैजाने, नेपाल र नेपालीको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा अलिकति हामी माथि उठेर सोच्नुपर्छ । दलगत स्वार्थभन्दा पनि राष्ट्रको कार्य हेर्नुपर्छ ।

० तपाईंहरू गिरिजाबाबुुलाई प्रधानमन्त्री बन्न दिनुहुन्न भन्ने रणनीतिमा लाग्नुभएको छ अरे नि त ?
– हामी सबैले सर्वसम्मतिबाट गिरिजाबाबुलाई संसदीय दलको नेता बनाएकै हो । पार्टीको सभापति पनि हामीहरू सबै मिलेर बनाएका हौँ । संसद्को अहिले गणितीय खेलमा पनि उहाँ प्रधानमन्त्री हुन सक्नुहुन्छ भने हामी कसैले पनि बाधा र अड्चन खडा गर्दैनौँ । काङ्ग्रेसभित्रबाट प्रधानमन्त्री बन्न उहाँलाई कुनै बाधा हुँदैन ।

० तपाईं पनि गिरिजाबाबुलाई प्रधानमन्त्री बनाउन तयार हुन्छ त ?
– हामी सबैले पार्टीको सभापति र संसदीय दलको नेता बनाएको व्यक्ति प्रधानमन्त्री हुन्छ भने मेरो लागि त गौरवको कुरा हो । मैले उहाँलाई विरोध गर्नुपर्ने कुनै कारण छैन ।

० चिरञ्जीवी वाग्लेले त प्रधानमन्त्री बन्न गिरिजाबाबुलाई दिनुहुन्न होला नि त ?
– चिरञ्जीवी वाग्ले पनि गिरिजाबाबुलाई प्रधानमन्त्री बनाउन लाग्नुहुन्छ । उहाँले विरोध गर्नुपर्ने कारण त म केही पनि देख्दिनँ ।

(घटना र विचार साप्ताहिक, २०५४ साउन २९ गते बुधबार)